भारतमा पहिलो पटक भेटिएको कोरोनाभाइरसको नयाँ भेरिअन्ट यूकेमा पत्ता लागेको छ। स्वास्थ्य अधिकारीहरूले त्यसमा भएको आनुवंशिक परिवर्तनले त्यसलाई झन् छिटो फैलिने बनाएको हुनसक्ने र यसअघिको सङ्क्रमण वा वर्तमान खोपले पूर्ण सुरक्षा गर्न नसक्ने बताएका छन्।
यसबारेमा सुनिश्चिचताको निम्ति थप अध्ययनहरू आवश्यक रहेको बताइएको छ। कोभिडका हजारौँ प्रजाति वा भेरिअन्टले विश्वमा चक्कर लगाइरहेका छन्।
तिनैमध्ये भारतीय भेरिअन्ट ९बी.१.६१७० का १०० भन्दा बढी सङ्क्रमण ब्रिटेनमा भेटिएका हुन्। पब्लिक हेल्थ इङ्ल्याण्डले केही सङ्क्रमणहरू अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नरहेको देखिएको जनाएको छ। त्यसको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ। नयाँ घटनाक्रमपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भारत भ्रमण योजना रद्द गरेका छन्।
ब्रिटेन सरकारले यात्रामा प्रतिबन्ध लगाइएको देशहरूको रातो सूचीमा भारतलाई पनि समावेश गरेको छ। तर भारतीय भेरिअन्ट यूके, ब्रजिल र दक्षिण अफ्रिकाका भेरिअन्ट जस्तै ‘चिन्तित तुल्याउने भेरिअन्ट’ हो भन्ने पर्याप्त आधार अहिलेसम्म छैन। यूके वा केन्ट भेरिअन्ट (बी.१.१.१) धेरै जस्तो ब्रिटेनमा देखिएको छ र ५० वटा देशमा फैलिएको छ। दक्षिण अफ्रिका भेरिअन्ट (ब.१.१.३५१) ब्रिटेनसहित कम्तीमा २० अन्य देशमा भेटिएको छ। ब्रजिल भेरिअन्ट (पी.१) पनि अहिले ब्रिटेनमा भेटिएको छ।
पुरानो स्वरुपको भाइरसले जेष्ठ नागरिक वा स्वास्थ्य जटिलता भएकाहरूलाई उच्च जोखिममा पार्ने गरेको थियो। यूके भेरिअन्टबारे केही अनुसन्धानहरूले मृत्युको ३० प्रतिशत उच्च जोखिमसँग त्यो सम्बन्धित रहेको देखाएका छन्। तर अहिलेसम्म निष्कर्षमा पुग्न यथेष्ट प्रमाणहरू छैनन्। अहिलेका खोप कोरोनाभाइरसको सुरुको स्वरूपलाई ख्याल गरेर तयार गरिएका हुन्। तर वैज्ञानिकहरूले ‘सम्भवतस् धेरै राम्रो नगरे पनि’ तिनले काम गर्ने विश्वास गर्छन्।
प्रयोगशालाको परिणामले थोरै कम प्रभावकारी भए पनि फाइजर खोपले नयाँ भेरिअन्टविरुद्ध सुरक्षा दिने देखाएको छ। अनुमति पाउने अवस्थामा रहेका नोभाभ्याक्स र यान्सनका दुईवटा खोपले पनि केही सुरक्षा दिने बताइएको छ। अक्सफोर्ड-आस्ट्राजेनेका खोप समूहको तथ्याङ्कले उक्त खोपबाट यूके भेरिअन्टविरुद्ध मात्र सुरक्षा दिने जनाएको छ। दक्षिण एफ्रिकी भेरिअन्टबाट यसले कम सुरक्षा दिन्छ।
मोडेर्नाको यसअघिको परिणामले दक्षिण अफ्रिकाको भेरिअन्टविरुद्ध उक्त खोप प्रभावकारी रहेको देखाएको छ। तर प्रतिरोधात्मक क्षमता लामो समयसम्म वा बलियो नरहन सक्छ। भविष्यमा भाइरसको भेरिअन्ट फरक रूपमा विकास हुनसक्छ। तर खोपमा सुधार र त्यसको पुनर्संरचना गर्न सक्ने विज्ञहरूले जनाएका छन्।-बीबीसी




Facebook Comments