ठूला विराला प्रजातीलाई संरक्षण गर्ने उद्देश्यले सय मिलियन अमेरिकी डलर छुट्याउने भारतकाे प्रस्ताव

काठमाडाैं । भारत सरकारले ठूला विराला प्रजातीलाई संरक्षण गर्ने उद्देश्य सय मिलियन अमेरिकी डलर छुट्याउन लागेकाे छ ।

बाघ संरक्षणको ५०औं वर्षगाँठ अर्थात स्वर्ण जयन्तीकाे अवसरमा आयाेजित अन्तर्राष्टिय ठूला विराला प्रजाती संरक्षण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले सय मिलियन अमेरिकी डलर छुट्याउने प्रस्ताव गर्नु भएकाे हाे ।

उक्त अवसरमा भारत सरकारले ठूला बिराला प्रजातिको संरक्षण गर्ने र उक्त प्रजातिको चोरी सिकार तथा अवैध व्यापार नियन्त्रण गर्ने उद्देश्यले विश्वका ९७ राष्ट्रलाई एउटै कार्यक्रममा आबद्ध गर्न ‘इन्टरनेसनल बिग क्याट्स एलायन्स’ को घोषणा गरिएको छ । उक्त कार्यक्रमलाई पाँच वर्षसम्म सञ्चालन गर्नका लागि भारत सरकारले १० करोड डलर खर्च गर्ने प्रस्तावसमेत अगाडि सारेको हाे ।

भारतीय मोदीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा नेपालका तर्फबाट प्रधानमन्त्री एवं वन तथा वातावरणमन्त्री दाहालको विशेषदूतका रूपमा ऊर्जामन्त्री बस्नेतको नेतृत्वमा विभागका महानिर्देशक डा महेश्वर ढकाललगायतको प्रतिनिधिमण्डलले भाग लिएको थियो ।

सोही अवसरमा मन्त्री बस्नेतले नेपालको धारणा राख्दै नेपाल सरकारले स्थानीय समुदाय, सुरक्षा निकाय र संरक्षण साझेदार संस्थासँग मिलेर साझेदारीमा काम गरेको परिणामस्वरुप सन् २०१० मा एक सय २१ रहेको बाघको सङ्ख्या बढेर २०२२ मा तीन सय ५५ पुग्न सफल भएको जानकारी गराउनुभएको थियो ।

मन्त्री बस्नेतले नेपाल सरकारका तर्फबाट ‘इन्टरनेसनल बिग क्याट्स एलायन्स’ मा नेपाल संस्थापक सदस्य हुने पत्र भारतका पर्यावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवलाई हस्तान्तरण गर्नुभएको थियो ।

तीन दिनसम्म चलेको उक्त सम्मेलनमा बाघ संरक्षणलाई एउटा संस्कृतिका रूपमा विकास गर्न, मानव–वन्यजन्तु द्वन्द्व घटाउन र वन्यजन्तु तथा संरक्षित क्षेत्र व्यवस्थापनलाई पर्यापर्यटनमार्फत आर्थिक उपार्जन गर्नेगरी विभिन्न कार्यपत्रमा छलफलसमेत भएको थियो ।

विकास र वातावरणलाई सँगसँगै लिएर जान दिगो विकासका लक्ष्य प्राप्त गर्नका लागि र जलवायुजन्य जोखिमबाट वन्यजन्तुको अनुकूलित क्षमता विकास गर्न समाजका सबै आयामलाई संरक्षणमा सहभागी गराउन जोड दिइएको थियो ।

उक्त कार्यक्रममा नेपाललगायत आर्मेनिया, बङ्गलादेश, भूटान, थाइल्यान्ड, मलेसिया, भियतनाम, क्याम्बोडिया, लाओस, केन्या, सुरिनाम, तान्जानिया, इथियोपिया, नाइजेरियालगायत देशका मन्त्री तथा प्रतिनिधिले भाग लिएका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.