उइगरमाथि चीनले निर्मम तवरले यातना दिँदै, ज्यान जाेगाउनै मुस्किल

एजेन्सी । चिनियाँ अधिकारीहरुले सिन्जियाङ प्रान्तका उइगर मुस्लिम अल्पसंख्यकमाथि निर्मम तवरले यातना दिइरहेका छन् ।

उनीहरुमाथि निसन्तान बनाउनेदेखि आतंकवादी स्वीकार गराउनेसम्मकाे यातना दिने गरिएकाे अन्तर्राष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

महिला इन्जिनियर गुलबहार हेटिवाजी चीनको अल्पसंख्यक उइगर मुसलमान भएर पनि उनी आफ्ना श्रीमान् र छोरीहरूसँग फ्रान्समा बस्थिन्।

तर सन् २०१६ नोभेम्बरको एक दिन तेल कम्पनीबाट उनलाई फोन आउँछ। फोनमा पेन्सनबापतको कागजातमा हस्ताक्षर गर्न सिन्जियाङ जान भनिन्छ।

यो एक चाल थियो भन्ने उनले बुझेकी हुँदिनन्। दुई सातामै फर्कने सोच राखेर चीन जान्छिन्। तर, २०१७ जनवरीमा उनी चीनमै पक्राउ पर्छिन्।

उनलाई उइगर महिलाहरूसँगै स्टिलको खाटमा साङ्लोले बाँधेर हिरासतमा राखियो। उइगरको समर्थनमा भएको एक प्रदर्शनमा सहभागी भएकी उनकी छोरीको तस्वीर देखाउँदै चिनियाँ अधिकारीहरूले ‘मेरी छोरी आतंकवादी हो’ भनेर स्वीकार गर्न लगाए। उनले अस्वीकार गरिन्।

उता फ्रान्समा भने उनको परिवार चिन्तामा दिन गुजारिरहेको थियो। उनी फर्किने बाटो कुरिरहेको थियो।

यता, उनलाई सिन्जियाङको उत्तरी कारामे शहरको बाइजियान्ताङ क्याम्प लगियो। दैनिकी अकल्पनीय थियो। महिलाहरूलाई कम्युनिस्ट पार्टीका गीतहरू कण्ठ पार्न र चिनियाँ राष्ट्रपति सी चिनफिङकोे प्रशंसा गर्न बाध्य पार्न थालियो।

करिब २०० जति महिला राखिएको क्याम्पमा उनीहरूलाई ‘ब्रेन वास’ गर्न सबै कुरा बारम्बार दोहोर्याउन लगाइन्थ्यो। डरले थरथराएका महिला र किशोरीहरू ‘हामी आतंकवादी होइनौँ’ भन्दै रोइकराई गरिरहेका हुन्थे।

तर उनीहरुकाे आवाज कसैले सुन्थेनन् । उनीहरूलाई परालका ओछ्यानमा सुताइन्थ्यो। सुरक्षा गार्ड र भिडियो क्यामराको पहरेदारीमा दिन कटाउनुपर्थ्यो। कोही महिला थाकेर सुस्ताए वा आँखा बन्द गरे गार्डहरूले प्रार्थना गरेको आशंकामा घिसार्दै कोठा बाहिर लैजान्थे। गुलबहार भने रातको समयमा कसैले नदेख्ने गरी प्रार्थना गरेको बताउँछिन्।

गत साता वासिंटन पोस्टसँग उनले भनेकी छन्, “म निर्दोष छु, म निर्दोष छु, म निर्दोष छु भनेर आफूलाई सम्झाउथेँ।”

बन्दीगृहभित्र अन्य महिलाजस्तै उनलाई पनि निरन्तर अपराधीको आरोप लगाइन्थ्यो। माफी पाउने आश्वासन देखाउँदै अपराध स्वीकार गर्न लगाइन्थ्यो। उनी भन्छिन्, “शिक्षक र गार्डहरूको पहरामा बसिरह्यौँ। ब्रेन वासिङको श्रृंखला भने चलि नै रह्यो। तर हामी निर्भीक थियौँ।”

२०१८ अक्टोबरमा ५०० भन्दा बढी महिला राखिएको एक विशाल क्याम्पमा उनलाई पनि सारियो। त्यहाँ बन्दी महिलाका कुनै वकिलबिना नै सुनुवाइमा राखियो। न्यायाधीशले प्रदर्शनमा सहभागी भएकी उनकी छोरीको फोटो देखाउँदै उनलाई सात वर्षसम्म रिएजुकेशनमा बस्ने फैसला गरिदिए। त्यसलगत्तै गुलबहारलाई भिडियो क्यामरा अघिल्तिर उभ्याएर झुट स्वीकार्न बाध्य पारियो।

त्यस भिडियोमा उनले विदेशमा हुने सबै उइगर गतिविधिको निन्दा गरिन्। “त्यसपछि मेरो कोठामा गएर पश्चतापमा निकैबेर रोएँ,” गुलबहार सुनाउँछिन्, “यस्ता क्याम्पहरूको उद्देश्य हामीलाई विभत्स मार्नु त थिएन, तर हामीलाई बिस्तारै गायब पार्नु थियो। यति बिस्तारै कि कसैले छनक नपाओस्।”

उनका अनुसार बन्दीगृहमा उइगरका परम्परा र विश्वासलाई घृणा गर्न, भाषालाई आलोचना गर्न र समुदायका मानिसलाई अपमान गर्न लगाइन्थ्यो। हेटिवाजीहरू आतंकवादी हो भन्ने विश्वास दिलाउने प्रयास गरिन्थ्यो।

फ्रान्समा भने गुलबहारकी छोरीले चिनियाँ क्याम्पहरूको निन्दा गर्दै टेलिभिजनमा खुला रूपमा आवाज उठाइरहेकी थिइन्। यता, क्याम्पमा बिरक्तिएकी गुलबहारले सम्झौता गर्ने निर्णय गरिन्। फ्रान्सको परिवारलाई उइगर समर्थित सबै गतिविधि बन्द गर्न लगाउने र बदलामा आफ्नो स्वतन्त्रता माग्ने निर्णयमा पुगिन्।

फोनमा परिवारसँगको वार्तालापपछि चिनियाँ प्रहरीले केही लेखेजस्तो गरेर उनको हातमा एउटा लिखत थमाइदिए। त्यसपछि, न्यायाधीशले उनलाई निर्दोष करार गर्छन्। उनी २०१९ अगस्टमा फ्रान्स फर्किइन्।

गुलबहारको भोगाई चीनभित्र उइगरमाथि कसरी दमन भइरहेको छ भन्ने चित्र मात्र होइन, सीमाबाहिर पनि चीन सरकार र चिनियाँ नेताविरूद्ध हुने गतिविधि र अवज्ञा गर्नेहरूमाथि सरकारी पहुँच कसरी हुने गर्छ भन्ने जानकारी हो। गुलबहारले अन्तर्वार्तामा भनेकी छन्, “चीन सरकार हाम्रो अस्तित्व मेटाउन चाहन्छ, त्रासमा बस्न र उनीहरूले भनेको मान्न लगाउँछ।”

चीनको उत्तरपूर्वी सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उइगर मुस्लिम समुदायको बसोबास छ। टर्कीका मुसलमानसँग मिल्दोजुल्दो संस्कार भएको यो समुदाय चीनमा पुस्तौँदेखि बस्दै आएको मानिन्छ। सन् २०२० मा चीनले सार्वजनिक गरेको तथ्यांकअनुसार यहाँ करीब एक करोड १० लाख उइगर समुदायको बसोबास छ।

यो समुदायको आफ्नै मौलिक भाषा र संस्कृति छ। तर, चीन सरकारले उनीहरूको पहिचान मेटाउन राज्यसंयन्त्र नै खडा गरी दमन र ज्यादती गरिरहेको पश्चिमा मुलुकहरूले आरोप लगाउने गरेका छन्। उइगर समुदायको मानव अधिकारको विषय अमेरिकाले पटकपटक उठाउने गरेको छ। उइगर समुदायको अस्तित्व नै मेटाउन चीन लागिपरेको भन्नेसम्मका आरोप पश्चिमा देशहरूले लगाउने गरेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.