काठमाडौं । विश्वका २ ठूला अर्थतन्त्रहरुबीच कूटनीतिक तनाव बढ्दै गएपछि चिनियाँ लगानीकर्ताहरुले मे महिनामा रेकर्ड मात्रामा अमेरिकी स्टक र बन्डहरु बिक्री गरेका छन् । चिनियाँ कोषहरुले अमेरिकी ट्रेजरी र एजेन्सी, कर्पोरेट र अन्य बन्डहरु साथै इक्विटीहरु समावेश गरी मे महिनामा ४२.६ अर्ब डलर बराबरको दीर्घकालीन धितोहरु बिक्री गरेको अमेरिकी ट्रेजरी विभागको तथ्यांकलाई उद्धउतृत गर्दै ब्लुमबर्गले लेखेको छ ।
सन् २०२४ को पहिलो ५ महिना अर्थात मे महिनासम्ममा चिनियाँ लगानीकर्ताहरुले कुल ७९.७ अर्ब डलर बराबरको धितोपत्रहरु बिक्री गरेका छन् । जुन यो अवधिमा बिक्री भएको हालसम्मकै उच्च हो । अमेरिकी राष्ट्रपति चुनावको अनिश्चितताका कारण चिनियाँ लगानीकर्ताहरुले जोखिम न्यूनीकरणका लागि अमेरिकी धितोहरु बिक्री गरेको हुनसक्ने अनुमान गरिएको छ ।
चिनियाँ फन्डहरुलाई अमेरिकी डलर होल्डिङ घटाउन राजनीतिक प्रभाव परेको हुनसक्ने पनि सिड्नीको ग्लोबल एक्स म्यानेजमेन्ट कम्पनीका लगानी रणनीतिकार बिली लेउङलाई उद्धृत गर्दै ब्लुमबर्गले लेखेको छ । चिनियाँ लगानीकर्ताहरुले बिक्री गरेको धितोपत्रहरुमा आधाभन्दा बढी अमेरिकी ट्रेजरी रहेको छ । त्यसपछि एजेन्सी डेब्ट र स्टकहरु रहेका छन् । गत अप्रिलमा १० वर्ष अवधिको बेन्चमार्क अमेरिकी ट्रेजरी नोटको यिल्ड सन् २०२३ नोभेम्बरयताकै उच्चमा विन्दुमा पुगेको थियो ।
चीन अमेरिकी ट्रेजरीहरुको सबैभन्दा ठूलो विदेशी होल्डरहरुमध्ये एक हो । ट्रेजरी बिलको प्रवाहमा भएको परिवर्तनलाई बन्ड लगानीकर्ताहरु र भूराजनीतिक रणनीतिकारहरुले नजिकबाट हेर्दै आएका छन् । धितोपत्र बिक्रीसँगै चीन र अमेरिकाबीचको तनावमा भएको वृद्धिले बेइजिङले आफ्नो विदेशी रिजर्भलाई अमेरिकी सम्पतिबाट बाहिर निकाल्न सक्ने अनुमान थप प्रखर बन्दै गएको छ ।
अमेरिकी डलरको ओभरभ्याल्यूएसन, चिनियाँ इक्विटीको तुलनामा महँगो अमेरिकी इक्विटी र तरलताको बढ्दो आवश्यकताको कारणले चिनियाँ लगानीकर्ताहरुले विविधीकरण गरेको बजार रणनीतिकारहरुले बताएका छन् । आर्थिक सूचकांकहरु र अमेरिकी चुनावमा राजनीतिक अनिश्चितताका आधारमा भविश्यमा चिनियाँ लगानीकर्ताले थप लगानी झिक्ने अनुमान गरिएको छ ।
चीनले सन् २०१७ को अन्त्ययता अमेरिकी ट्रेजरी र बन्डहरुको होल्डिङ ४ खर्ब ४० अर्ब डलरले घटाएको छ । यद्दपि, यसअवधिमा कस्टोडियन खाताको रुपमा हेरिने बेल्जियममा रहेको धितोपत्रमा लगानी भने १ खर्ब ५९ अर्ब डलरले बढेको छ । यसआधारमा कतिपयले अमेरिकी स्टक, एजेन्सी बन्ड र अन्य ऋणको चीनको होल्डिङमा कटौती गरेको भनाई फेरबलदल गरिएको पनि बताएका छन् ।
