मोदीले गरे १८ सय करोड भारुमा निर्माणाधीन राम मन्दिरको उद्घाटन

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन राम मन्दिरको उद्घाटन गरेका छन्। भारतीय संचारमाध्यमका अनुसार १८ सय करोड भारतीय रूपैयाँमा निर्काणाधीन ठूलो राम मन्दिरको निर्माण कार्य यसै वर्ष सम्पन्न हुनेछ ।

सोमबार प्रधानमन्त्री मोदीले पूजा गर्दै राम मन्दिरको उद्घाटन गरेका हुन् । मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि रामको पूजा गरेका थिए ।

हाल जहाँ राम मन्दिर बनाइएको छ, त्यहाँ मुस्लिम धर्मावलम्बीहरूको बाबरी मस्जिद थियो । १६औँ शताब्दीको बाबरी मस्जिदलाई हिन्दुको भिडले सन् १९९२ मा भत्काएका थिए । बाबरी मस्जिदको विनाशले हिन्दु र मुस्लिम धर्मावलम्बीबीच राष्ट्रव्यापी झडप निम्त्याउँदा दुई हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।

भगवान रामको जन्म अयोध्यामा भएको विश्वास गरिन्छ जसकारण त्यहाँ हिन्दुहरूले लामो समयदेखि ठूलो राम मन्दिरको माग गर्दै आएका थिए, हाल राम मन्दिरको निर्माणले धेरै हिन्दु धर्मावलम्बीको इच्छा पूरा भएको छ ।

राम मन्दिरको उद्घाटनमा चर्चित कलाकार तथा उद्योगपतिहरूसहित हजारौँ भक्तजनहरूको उपस्थिति रह्यो । तर, यस समारोहलाई केही हिन्दु धर्मगुरु र विपक्षी नेताहरूले बहिष्कार गरेका छन् । उनीहरूले मोदीले चुनाव जित्नका लागि धर्मको सहारा लिएको बताएका छन् । आगामी चुनावअघि राजनीतिक फाइदाको लागि राम मन्दिरको कार्ड प्रयोग भएको उनीहरूको आरोप छ ।

आज मन्दिर उद्घाटन समारोहको क्रममा भुइँ तल्ला मात्र खोलिएको छ, पूरा मन्दिर भने एक वर्ष पछि पूरा रूपमा खोलिने अपेक्षा छ ।

मन्दिर बनाइएको क्षेत्रमा मुस्लिम धर्मावलम्बीको पनि दाबी भएकाले उक्त क्षेत्रको जग्गाको स्वामित्वको लागि लामो कानुनी लडाइँ चलेको थियो । तर सन् २०१९ मा सर्वोच्च अदालतले उक्त विवादित जग्गामा राम मन्दिर बनाउन आदेश दियो, साथै बाबरी मस्जिद बनाउन अन्तै ठाउँ दिइएपछि मुद्दा समाधान भयो, तर विरोध भने अहिलेसम्म रोकिएको छैन ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.