एजेन्सी । ताइवानी राष्ट्रपति त्साइ इङ-वनले अघिल्लो साता गरेको संयुक्त राज्य अमेरिका भ्रमणपछि उत्पन्न तनावका माझ चीनले दोस्रो दिनपनि ताइवान वरपर सैनिक अभ्यास जारी राखेको छ।
बेइजिङले उक्त अभ्यासलाई ताइपेइविरुद्धको ‘कडा चेतावनी’का रूपमा व्याख्या गरेको छ। उसको जलसेना र हवाई सेनाले उक्त टापुलाई घेराबन्दी गर्ने पूर्व तयारीको सैन्य अभ्यास जारी राखेका हुन्।
ताइवानको रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टाभित्र ७१ वटा चिनियाँ जेट विमान र ९ वटा नौ सैनिक पानी जहाज उक्त टापु वरपर देखिएको जनाएको छ।
उक्त चिनियाँ अभ्यासलाई लिएर ताइवानले आक्रोश व्यक्त गरेको छ।
चिनियाँ सैन्य अभ्यासमा अमेरिकाको नजर
ताइवानी राष्ट्रपतिले अमेरिकामा त्यहाँकी सभामुख केभीन मकार्थीसँग भेटवार्ता गरेकी थिइन।
बेइजिङले उक्त भेटघाटलाई ‘बहाना बनाएर सैन्य अभ्यास गरेको र त्यसले उक्त क्षेत्रको शान्ति, स्थिरता र सुरक्षामा गम्भीर खलल पुर्याएको’ ताइवानले आरोप लगाएको छ।
संयुक्त राज्य अमेरिकाले भने चीनलाई आक्रोशित नहुन र अनावश्यक उत्तेजना व्यक्त नगर्न आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका एक जना प्रवक्ताले बेइजिङसँग आफ्नो देशको सञ्चारका च्यानलहरू खुला रहेको बताए।
ती प्रवक्ताले चीनको गतिविधि नजिकबाट निगरानी गरिरहेको र सो क्षेत्रमा स्थिरता कायम गर्न आवश्यक स्रोतसाधन अमेरिकासँग रहेको बताए।
संयुक्त राज्य अमेरिकाले सन् १९७९ मा बेइजिङको पक्षमा उभिँदै ताइपेइसँग कूटनीतिक सम्बन्ध तोडेको थियो तर कानुनी आधारमा ताइवानलाई आत्मरक्षाका लागि सहयोग गर्न अमेरिका बाध्य छ।
बेइजिङले ताइवानलाई चीनको एउटा टुक्रिएको प्रान्तको रूपमा हेर्छ। र उसले घोषित रूपमा नै आवश्यक परे सैन्य बल प्रयोग गरेरै भएपनि ताइवानलाई पुन आफूमा गाभ्ने बताउने गरेको छ।
ताइवानी राष्ट्रपति साई इङ-वेन अमेरिकाको भ्रमणबाट फर्केको केही घण्टापछि चीनले त्यो अभ्यास सुरु गरेको थियो।
ताइवानको रक्षा मन्त्रालयले ४५ वटा चिनियाँ सैन्य विमान र ९ वटा सैन्य पानीजहाजले ताइवान स्ट्रेटको मध्यरेखा पार गरेको वा दक्षिणतर्फको हवाई प्रतिरक्षाका लागि पहिचान गरिएका क्षेत्रमा प्रवेश गरेको जनाएको छ।
त्यो चिनियाँ र ताइवानी क्षेत्रलाई अनौपचारिक रूपमा विभाजन गर्ने रेखा हो।