काठमाडाैं । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन्। नेपाली सेनाको विशेष निमन्त्रणामा स्थल सेनाध्यक्ष पाण्डे फागुन पहिलो साता आउन लागेका हुन्।
नेपाली सेनाले भारतीय सेनाका पूर्व प्रमुखलाई पनि आफ्नो २६० औं स्थापना दिवसको अवसरमा निमन्त्रणा गरेको छ। भारतीय स्थल सेनाका ११ जना पूर्व प्रमुखलाई निमन्त्रणा गरिएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।
पूर्वप्रमुखहरु विश्वनाथ शर्मा, शंकर रोय चौधरी, वेदप्रकाश मल्लिक, सुन्दराराजन पद्मनभन, निर्मलचन्दर बिज, जोगिन्द्र जसवन्त सिंह, दीपक कपुर, विजयकुमार सिंह, विक्रम सिंह, दलवीर सिंह र मनोज मुकुन्द नरवानेलाई सेनाले निमन्त्रणा गरेको छ।
प्रवक्ता भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर ८ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो पटक नेपाल आउन लागेका हुन् । यसअघि गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए । उनले त्यसबेला मानर्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्केका थिए ।