काठमाडौं । नेकपा एमालेले आगामी आम चुनावपछि पार्टीबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको रुपमा अघि सारेका छन्। जसको प्रत्यक्ष क्षति पार्टीले व्यहोर्नु परेको छ।
तर एमालेकै नेतृत्वबाट भएको गम्भीर गल्तीलाई बेवास्ता गर्दै भावी प्रधानमन्त्री तोक्ने कामले पार्टीलाई नै ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ। खोक्रो राष्ट्रवादलाई बेस्सरी उचालेर २०७४ को निर्वाचनमा जितेका ओली यसपटक आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुने स्थितिमा छन्।
कम्तीमा आफ्नै कदमले प्रतिपक्षीमा खुम्चिएको पार्टीले प्रधानमन्त्री तोक्न हतार गर्नुपर्ने आवश्यक नभए पनि ओलीको हठका अघि कोही बोल्न नसक्ने रहेछन् भन्ने कुरालाई उजागर गरिदिएको छ। विगतका दिनमा ओलीको व्यक्तिगत निर्णयले गर्दा पार्टीमा परेको गम्भीर असरलाई समीक्षा नगरी फेरि त्यही गल्ती दोहोर्याउँदा भोलिका दिनमा गम्भीर संकटमा पर्ने निश्चितजस्तै छ।
त्यसमाथि एमालेबाटै राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी साँठगाँठमा संसद् विघटनजस्तो गम्भीर निर्णय गर्दा त्यसको दोष केही हदसम्म आफूले लिनुपर्नेमा फेरि आफैँलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्दा दाँत देखाएर हाँस्नु सिंगो एमालेकै लागि क्षति हो।
देशमा नयाँ र स्वतन्त्र उम्मेदवारको लहर चलेका बेला ओलीले कम्तीमा आफूलाई चुनावपछि मात्रै प्रधानमन्त्री हुने बुझाई स्पष्ट गरी रणनीतिगत रुपमा चुनावमा जानु आवश्यक थियो। तर त्यसलाई बेवास्ता गर्दै ओलीले आफैँलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानु तत्कालका लागि कम्तीमा कम्युनिस्ट राजनीतिमा सुहाउँदो विषय भने होइन।
अहिले एमालेमा नेतृत्व र अभिभावकीय हिसाबले एकमात्रै ‘बा’ रुपमा ओली छन्। ओलीले जे भन्यो, हस् भन्दै कार्यकर्ता कुद्ने गरेका छन्। किनकी उनलाई चुनौति दिने, उनको विकल्प दिने र उनको निर्देशन नमान्ने नेता र कार्यकर्ताले एमालेमा ठुलै मूल्य चुकाउनुपर्ने थुप्रै दृश्य यसअघि देखिएकै छन्।
एमालेले दुई तिहाई बहुमत पाउँदा ओली जसरी दम्भले फुलेका थिए। अहिले त्यो अवस्था छैन। तर व्यक्तिगत अह्मका कारण ओली अझै पनि विशेष मानिन्छन्। कम्तीमा एमालेका लागि उनी अहिले पनि ‘बा’ नै हुन्।
यस्तो अवस्थामा ओलीले आफूनिकट कार्यकर्ताको भेलाबाट आफैलाई भावी प्रधानमन्त्री घोषणा गर्नु अन्यथा होइन। तर एउटा प्रतिपक्षमा रहेको पार्टीले, त्यसमाथि गम्भीर गल्तीका रुपमा संसद विघटनका कारण सत्ताबाट हुत्तिएको पार्टीले शानदार ढंगबाट निर्विकल्प चुनावी प्रधानमन्त्री घोषणा गर्नु हास्यास्पद हो। यसको प्रत्यक्ष नोक्सानी पार्टीले व्यहोर्ने भएको छ।