दाङ — मोटरसाइकल दुर्घटना हुँदा घोराहीमा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ जाँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका–८ बनगाउँमा शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रोहन हमालकी आमा प्रमिलाको मृत्यु भएको हो । चालक रोहन र उनकी बहिनी सविना हमाल पनि घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते घोराही उपमहानगरपालिका–१७ गुलरियाकी ३४ वर्षीया प्रमिला हमालको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राति नै मृत्यु भएको हो । घाइते दाजुबहिनीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको एसपी सरेश काफ्लेले जानकारी दिए । उनका अनुसार हेडलाइट बिग्रिएको मोटरसाइकल बाटोमा राखिएको बालुवाको थुप्रोमा दुर्घटनामा भएको हो । उनीहरु चैते दसैं मानेर आफन्तको घरबाट नारायणपुर फर्किरहेका थिए ।

Facebook Comments