पत्नीलाई सर्पले डसाएर मार्ने एक भारतीयलाई दोहोरो आजीवन कारावास

काठमाडौँ । पत्नीलाई गोमन सर्पले डसाएर मार्ने एक भारतीय नागरिकलाई दोहोरो आजीवन कारावासको सजाय भएको छ । दोहोरो आजीवन कारावास दुर्लभ मानिन्छ । सर्पले डसेर पत्नी उथराको निधन भएपछि गत वर्ष प्रहरीले सुरज कुमारलाई पक्राउ गरेको थियो । घटना भारतको दक्षिणी राज्य केरलको हो ।

दाइजोका लागि पत्नीलाई प्रताडित गर्दै आएको आरोप माइती पक्षले लगाएपछि प्रहरीले हत्याको विषयमा अनुसन्धान सुरु गरेको थियो । सोमबार अदाललते पत्नी ओछ्यानमा सुतिरहेको समयमा उनले कोठामा सर्प छाडेको भन्दै दोषी ठहर्‍याएको थियो । गत वर्षको मे महिनामा २५ वर्षीया उथरा मृत अवस्थामा घरमा भेटिएकी थिइन् ।

त्यसको केही साताअघि मात्रै उथरालाई सर्पले डसेको थियो । दुवै घटनालाई जोड्दै माइती पक्षले शंका गरेको थियो । पहिलो पटक सर्प डस्दा उनी बाँचेकी थिइन् । प्रहरीको अनुसन्धानमा दुवै पटक सुरजले नै सो घटना गराएको खुलेको छ । प्रहरीले सर्प खरिद गर्न सुरजलाई सहयोग गर्न व्यक्तिलाई समेत पक्राउ गरेको थियो । ती व्यक्तिकै सहयोगमा प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो ।

भारतको कानुनसम्बन्धी समाचार दिने वेबपेज ‘लाइभल’काअनुसार सुरजले कसरी षडयन्त्र रचे र कसरी पत्नीको हत्या गरे भन्ने विषयमा १ हजार पेजमा आरोप पत्रमा विस्तृत रुपमा चर्चा गरिएको जनाएको छ । अभियोजनकर्ताले सो घटनालाई अति दुर्लभ भन्दै मृत्युदण्डको माग गरेका थिए । न्यायाधीशले पनि सो घटनालाई दुर्लभ भएको स्वीकार गर्दै दोहोरो आजीवन कारावासको सजाय र पाँच लाख रुपैयाँ जरिवानको फैसला गरेका छन् ।

Facebook Comments