काठमाडौं । लुम्बिनीमा जनता समाजवादी पार्टी नेपालका ४ सांसद पदमुक्त भएका छन् ।
पदमुक्त भएसँगै अंकगणित के हुन्छ भन्ने चासो छ । अविश्वासको प्रस्तावलाई रोकेका मुख्यमन्त्री शंकर पोखरेलको सरकार के हुन्छ भन्न प्रश्न उठेको छ । तर जसपाको सांसद पद जाँदा मुख्यमन्त्री पोखरेल बहुमतमा आएको अंकगणितले देखाएको छ ।
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, समुन शर्मा र कल्पना पाण्डेले पछि मन्त्रीको रुपमा सपथ लिएका थिए । तर, जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षको पत्र अनुसार बिहीबार प्रदेश सचिवालयले सूचना जारी गरेसंगै उनीहरुको प्रदेशसभा सदस्य पद खारेज भएको छ ।
उक्त निर्णयको विरुद्ध उनिहरु अदालत गएका छन् भने ठाकुर निर्वाचन आयोग पुगेका छन् । जसपा अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशका सभामुखलाई सम्बोधन गरेर अर्को पत्र पठाएका छन् । यसमा प्रदेशसभा सचिवालयले बदमासी गरेको आरोप पनि लागेको छ । प्रदेशसभामा सभामुख भने माओवादी केन्द्रका पूर्ण घर्ती छन् ।