काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले बजेटमार्फत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताएका हुन्।
ओलीले आर्थिक वर्ष २०७८र७९ बाट लागू हुनेगरी श्रमिक र कर्मचारीको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने घोषणा गरे । उनले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुयाइने दाबी गरेका छन् । यसैगरी दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट ५७७ रुपियाँ बनाइने भएको छ।
अनिकालमा पनि सकेसम्म भोकै नबस्ने भएकाले कोरोनाको संकट भएपनि यस वर्ष पारिश्रमिक पुनरावलोकन गर्ने उनले बताए। स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको उनले सन्देशमा उल्लेख गरेका छन्।