एजेन्सी । चीन र ताइवानबीच फेरि एकपटक टकरावको अवस्था सृजना भएकाे छ । यो अवस्था आउनुकाे कारण भने चिनियाँ लडाकु विमानहरू ताइवानको सिमानाको वरिपरि उडान गरिरहनु हाे ।
चीनले आजदेखि ताइवान वरिपरि तीन दिने सैन्य अभ्यास सुरु गरेको छ । ताइवानी राष्ट्रपतिको अमेरिका भ्रमणपछि यो निर्णय आएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।
पीपुल्स लिबरेसन आर्मीको पूर्वी थिएटर कमाण्डले चीनले यो अभ्यासको रूपमा मात्र गरिरहेको घोषणा गरेको छ। तर, चिनिया सरकारको यो निर्णय ताइवानका राष्ट्रपति साई इङ–वेन अमेरिकाको भ्रमणबाट फर्केको एक दिनपछि आएको र यो निर्णयलाई चीनको आक्रोशका रूपमा हेरिएको छ ।
यसैबीच करिब ४० चिनियाँ लडाकु विमान पनि ताइवान सीमामा प्रवेश गरेका छन् । चीनको सैन्य अभ्यासमा ताइवानको रक्षा मन्त्रालयले शान्त र तर्कसंगत जवाफ दिने बताएको छ। रक्षा मन्त्रालयले गम्भीर मनोवृत्ति अपनाएर बढ्दो द्वन्द्वलाई थप हावा दिन नचाहेको बताएको छ ।
ताइवानको रक्षा मन्त्रालयले शनिबार बिहान पनि विगत २४ घण्टामा ताइवानको वायु रक्षा क्षेत्रमा चिनियाँ विमानहरू देखेको बताएको छ। १३ चिनियाँ विमान र तीन युद्धपोत ताइवान वरपर फेला परेको छ।
यस सैन्य अभ्यासमा चीनले आफ्ना लडाकु विमानहरू ताइवानको क्षेत्रीय जलक्षेत्र र ताइवानको उत्तर, दक्षिण र पूर्वमा “योजना अनुसार” अभ्यास गरिरहेकाे छ। यस अभ्यास अन्तर्गत चीनले फेरि एक पटक ताइवानलाई आफ्नो सैन्य शक्ति देखाउन र युद्धको चेतावनी दिन दिइरहेकाे अनुमान गरिएकाे छ ।
ताइवानका राष्ट्रपति साईले बुधबार लस एन्जलसमा अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीसँग भेट गरे, जसले चीनलाई आक्रोशित बनाएको छ। वास्तवमा, चीन ताइवानलाई आफ्नो क्षेत्र मान्छ र कसैको हस्तक्षेप चाहँदैन।