लप्चीबासीलाई सीमामै राेके चिनियाँ सुरक्षाकर्मी

दोलखा । चीनसँग सीमा जोडिएको दुर्गम लप्चीबासीका चौरीको चरन क्षेत्र चीनतर्फ पर्छ । बिगु गाउँपालिका–१ लप्चीका स्थानीयले याक चौंरीलाई चरन क्षेत्र नलगेको ५ वर्ष भैसक्यो । मुख्यगरी हिउँददेखि वर्षासम्म लप्चीका स्थानीय गोठाला याक चौरी खेदेर उतातिरको चरन क्षेत्रमा गोठ लैजाने गर्छन् ।

गएको असोजमा चीनले अनौपचारिक सीमा खुला गरेपछि स्थानीयले चौंरी बाच्छा र घिउ बेचेर खाद्यान्न जोहो गरेका थिए । सोही आधारमा हिउँदमा लप्चीबासीले चरनका लागि याक चौंरी लैजान खोज्दा चिनियाँ सुरक्षाकर्मीले सीमामै रोकेका छन् । सीमाबासीसँग वारपार गर्ने आधिकारीक पास नभएकाले उनीहरूले रोकेका हुन् ।

लप्ची नाकाबाट चिनियाँ बजारमा जाँदा स्थानीयले हालसम्म पास प्रयोग गर्ने गरेका थिएनन् । उनीहरु नागरिकता देखाएर चिनियाँ बजारमा जाने गरेका थिए । तर चिनियाँ सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै अनिवार्य आधिकारिक पास मागेपछि सीमाबासीले नेपाल सरकारसँग पास उपलब्ध गराईदिन आग्रह गरेका छन् ।

यसअघि लप्चीबासीले चिनियाँ पक्षको मौखिक सहमतिमा सीमा वारपार गर्ने गरेका थिए । लप्चीका स्थानीयले पालेका याक चौंरीको मुख्य चरन क्षेत्र चीनको राम्दुङ लगायतको क्षेत्र हो ।माथिल्लो भेगमा हिमपात भएपछि याक चौरी धपाएर लप्चीबासी लुम्नाङ झर्छन् । लुम्नाङ झरेका लप्चीबासी हिउँद सकिए लगत्तै याक चौरी खेद्दै लप्ची हुँदै चीनका चरन क्षेत्र जाने पुग्ने गर्छन् ।

असोजमा चीनले नाका खुलाएर केहि सहज गरेपनि पुनः बन्द भएको स्थानीय फुर्वाथार्के शेर्पाले बताए । ‘लप्चीबासीको दैनिकी चीनको बजारबाटै चल्छ, नाका खुलेपछि खुसी भएका थियौं,’ उनले भने ‘अहिले बन्द भएको छ, जानुपर्दा पास अनिवार्य गरेकाले पास नभएर सीमामा चौंरीगोठ बनाएर बसेका छौं ।’

खाद्यन्नदेखि सबै कुरा उताकै बजारमा निर्भर हुनपर्ने बाध्यता रहेको उनले बताए । ‘गएको असोजमा बाच्छा र घिउ बेचेर जोहो गरेको खाद्यन्न सकिएको छ, हेलिकोप्टर ढुवानी गर्दा बोराको नौं हजार लाग्छ,’ उनले भने, ‘सीमा पास उपलब्ध गराईदिए खाद्यन्न र याक चौंरी चरन गर्न त्यसतर्फ जाने थियौं ।’

पछिल्लो समय सीमाबाट सुन तस्करीका गतिविधि भएपछि सीमामा कडाई भएको उनले बताए । ‘विगतमा आपसी समझदारी गरेर उतातर्फ जाने गरेका थियौं, कहिल्यै पास प्रयोग गरेका थिएनौं,’उनले भने, ‘तर पछिल्लो समयमा चिनियाँ सुरक्षाकर्मीले पास नभए जान दिदैंनौ भनेपछि निकै संकट परेको छ ।’

४८ घर रहेको लप्चीमा करिब १ सय ५० जनसंख्या रहेको छ । लप्चीबासीको मुख्यबजार चीनको राम्दुङ हो । यी परिवारका १ हजार भन्दा बढी याक चौंरी रहेकाछन् । लप्चीबासीको याक र चौंरी चरन क्षेत्र पनि चीनतर्फको खर्कहरु हुन् । सीमाका स्थानीयले याक चौंरी चराउन चरन क्षेत्र प्रयोग गरेवापत ७ सय ५० ग्राम घिउ चीन सरकारलाई बुझाउने गरेका थिए ।

सीमा बन्दसँगै हाल चरन क्षेत्रपनि चौंरी लैजान पनि अनिवार्य पास माग्ने गरिएको स्थानीय वाङचुक शेर्पाले बताए । याक चौंरी घिउ र बाच्छा बेच्न नपाएर आर्थिक संकट पर्दै गएको उनले गुनासो गरे । ‘खर्क जाने सीमामा सुरक्षाकर्मीले क्याम्प बनाएर बसेको छ,’ उनले भने,’घिउ र बाच्छा बेच्ने तयारीसहित खाद्यान्न किन्न पनि याक चौंरी खेदेर उता जान सीमामा पुगेपछि सरकारी पास खोजेर रोकेर राखेकाछन् ।’ विगत ५ वर्षदेखि उताको खर्कमा चरनका लागि याक चौंरी लैजान नपाउँदा आर्थिक भार थपिएको उनले बताए । सीमा बन्दका कारण याक चौरीलाई दिने ढुटोपिठो र नुन पनि जोहो गर्न लामाबगर झर्ने गरेकाछन् ।

निकै महंगो ढुवानीमा याक चौंरीका लागि नुन,र ढुटोपिठो लप्चीबासीले ढुवानी गर्ने गरेकाछन् । जलविद्युत् आयोजना निमार्णका नाममा लामाबगर झर्ने लप्चीबासी हिँडने बाटो समेत भत्काएकाले डोरीमा झुण्डिएर हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए । बाटो नभएका कारण हेकिप्टरमा प्रतिबोरा नौं हजार तिरेर चामल ढुवानी गरेको उनले बताए । ‘लामाबगर झर्ने बाटो हाईड्रोले बिगारिदियो, डोरीमा झुण्डीएर ज्यान जोखिममा राखेर हिँड्नुपर्छ,’ उनले भने, ‘उता जान सरकारी पास छैन, सीमाको दुःख बुझिदिने कोही भएनन्, भोकमारी लाग्ला जस्तो छ ।’

सीमामा आउजाउ बन्द गरिएपछि प्रतिपरिवार ४ सय केजी चामल ढुवानी गरेर लप्ची लानुपर्ने बाध्यता सीमावासी छन् । याक र चौरीलाईसहित लप्ची प्रतिपरिवारका लागि २५ सय केजीसम्म ढुवानी गर्नुपर्छ । लामाबगरमा ३० रुपैया पर्ने नुन ढुवानी गर्दा एकसय ६० रुपैयाँ पर्ने गरेको स्थानीय रेछेन शेर्पाले बताए । ‘लप्चीमा न बत्ती छ नत सञ्चार नै, सरकारले पनि पास उपलब्ध गराईदिए चीनको बजार पुगेर खाद्यन्न जोहो गर्थ्यौ,’ उनले भने, ‘याक चौरीलाई पनि उतै चरनका लागि लिएर जान सहज हुन्थ्यो, आर्थिक संकट पनि पर्दैनथ्यो ।’

सीमाको लप्चीबासीको सहजताका लागि परराष्ट्र मन्त्रालयमा पासको नमूना माग गरेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए । ‘लप्चीमा अध्यागमन कार्यालय नभएका कारण पासको नमूना माग परेका छौं,’ उनले भने, ‘लप्चीबासीलाई एकसाताभित्र लप्ची नै पुगेर आधिकारीक पास बाँडने तयारी गरेका छौं ।’

पास लिन चाहनेहरुका लागि उनीहरुलाई नागरिकता जम्मा गर्न भनिसकेको उनले बताए । ‘विगतमा नागरिकताबाट चल्ने रहेछ लप्चीबासीको आउजाउ, पासको आवस्यकता थिएन,’ उनले भने, ‘चिनियाँ पक्षले आधिकारिक पास मागेकाले पहिलोपल्ट सीमाबासीलाई पास उपलब्ध गराउन लागेका हौं ।’ सीमामा तस्करी लगायतका गतिविधि भएकाले दुवै देशका सुरक्षाकर्मीले कडाई गरेको उनले बताए ।साभाार कान्तिपुर दैनिकबाट

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.