भारत पाँचौँ ठूलो अर्थतन्त्र

नयाँदिल्ली । भारत विश्वकै पाँचौँ ठूलो अर्थतन्त्र बनेको दाबी गरिएको छ । स्टेट बैङ्क अफ इन्डिया (एसबीआई)ले शनिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सन् २०२१ डिसेम्बरमै भारतको अर्थतन्त्रको आकार बेलायतको भन्दा ठूलो भएको जनाएको हो ।

यो प्रतिवेदनले सन् २०२९ सम्ममा भारत विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण पनि गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पनि अहिले भारतको अर्थतन्त्र अमेरिका, चीन, जापान र जर्मनीभन्दा पछि रहेको जनाएको छ । “आईएमएफको प्रक्षेपणले डलरमा भारतको अर्थतन्त्र बेलायतको अर्थतन्त्रभन्दा ठूलो भइसकेको छ । जुन अमेरिका, चीन, जापान र जर्मनीको पछाडि छ । एक दशकअघि भारत ठूलो अर्थतन्त्रको सूचीमा ११औँ स्थानमा थियो,” आईएमएफको प्रतिवेदनमा भनिएको छ ।

चीनलगायत अन्य विकसित मुलुकको आर्थिक वृद्धिदरको तुलनामा भारतको अर्थतन्त्रको वृद्धिदर उच्च रहेको विभिन्न प्रतिवेदनले औँल्याएका छन् । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभ्लप्मेन्ट (ओईसीडी)को त्रैमासिक प्रतिवेदनअनुसार २०२२ अप्रिल–जुनको आर्थिक वृद्धिदर चीनको ०.४ प्रतिशत, जर्मनीको १.७ प्रतिशत, अमेरिकाको १.७ प्रतिशत, फ्रान्सको ४.२ प्रतिशत, इटालीको ४.६ प्रतिशत र क्यानडाको ४.८ प्रतिशत छ । जब कि भारतको आर्थिक वृद्धिदर यो आर्थिक वर्षको पहिलो चौमासिकमा १३.५ प्रतिशत रहेको भारतीय संस्थाहरूको दाबी छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार २०२२–२३ मा भारतको अर्थतन्त्र ७.४ प्रतिशतले बढ्छ ।

भारतीय वित्त सचिव टीभी सोमानाथनले बुधबार यो आर्थिक वर्ष भारतको आर्थिक वृद्धिदर ७–७.५ प्रतिशत रहने दाबी गर्नुभएको थियो । यो वृद्धिदर कायम रहे भारतको अर्थतन्त्रले फड्को मार्ने बताइएको छ ।

७–७.५ प्रतिशतको आर्थिक वृद्धिदरले भारतलाई सन् २०४७ सम्ममा माथिल्लो मध्यम आय भएको मुलुकमा पु-याउनेछ । उच्च आय भएको मुलुकको सूचीमा पु-याउन वार्षिक आर्थिक वृद्धिदर ८–८.५ प्रतिशत हुनुपर्ने भारतीय प्रधानमन्त्रीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष विवेक डेब्रोएले बताए । ७–७.५ प्रतिशतकै वृद्धिदरले पनि भारतको प्रतिव्यक्ति आय सन् २०४७ सम्ममा १० हजार डलर पुग्ने उनले बताए। एजेन्सी

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.