चीनको निर्यात व्यापारमा भारी गिरावट, अमेरिका र युरोपको मन्दीले अझै असर पार्ने

काठमाडौं। चीनको व्यापार नाफा एक वर्षयताकै न्यूनमा झरेको छ। मे महिनामा निर्यातमा भारी गिरावट आएसँगै चीनको व्यापार नाफामा गिरावट देखिएको हो।

कोभिडको कडा प्रतिबन्ध खारेज गरेसँगै सुधारोन्मुख देखिएको चीनको निर्यातमा गत फेब्रुअरीपछि पहिलो पटक गिरावट आएको हो।

बुधबार चिनियाँ भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार चीनको निर्यात मे महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.५ प्रतिशतले झरेर २८३.५ अर्ब अमेरिकी डलर पुगेको छ। मेमा चीनको निर्यातमा ०.४ प्रतिशतको गिरावट आउने अपेक्षा गरिएको थियो।

फलस्वरूप, मेमा चीनको व्यापार नाफा घटेर ६५.८ अर्ब डलर पुगेको छ। यो व्यापार नाफा गत वर्ष अप्रिलपछिकै सबैभन्दा कम हो। गत अप्रिलमा चीनको व्यापार नाफा ९०.२ अर्ब डलर थियो भने मेको लागि व्यापार नाफा ७१.६ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको थियो।

क्यापिटल इकोनोमिक्सका चीनका प्रमुख जुलियन इभान्स प्रिचार्डले चिनियाँ सामानको निर्यात मूल्यहरूमा आएको परिवर्तन तथा विश्वव्यापी रूपमा चिनियाँ सामानको सुस्त मागका कारण चीनको व्यापार नाफामा गिरावट आएको तर्क राख्छन्।

मेमा अन्तर्राष्ट्रिय बजारमा सुस्त माग भएसँगै चीनको उत्पादन क्षेत्रको गतिविधिमा पनि सुस्त भएको तथ्यांकले देखाउँछ।

यो वर्षको सुरूवातमा चीन सरकारले कोरोना महामारी नियन्त्रण गर्न अपनाएको कडा प्रतिबन्ध खारेज गरेको थियो। योसँगै चीनका उद्योगहरुले विभिन्न देशबाट आएका माग पूरा गर्न लागि परेका थिए। जसकारण, विगत तीन महिनादेखि चीनको निर्यातमा वृद्धि भएको थियो। सबै पेन्डिङ अर्डरहरू पूरा भइसक्दा हाल चिनियाँ फर्महरूले नयाँ अर्डरहरू पाइरहेका छैनन्। त्यसैले पनि निर्यातमा कमी आएको विज्ञहरू बुझ्छन्।

यस बाहेकपनि युरोप र अमेरिकामा सुस्ताएको आर्थिक गतिविधिले पनि यो वर्ष चिनियाँ निर्यातलाई नकारात्मक असार गर्ने बताइएको छ। युरोप र अमेरिका चिनियाँ सामानका लागि प्रमुख बजार हुन्। दुवै ठाउँ हाल उच्च मुद्रास्फीति र ब्याजदरसँग जुधिरहेका छन्।

निर्यातसँगै चीनको आयात मे महिनामा ४.५ प्रतिशतले घटेको छ। यो गिरावट अपेक्षित ८ प्रतिशतको गिरावट र अघिल्लो महिनाको ७.९ प्रतिशतलको गिरावटभन्दा कम हो। (एजेन्सीबाट)

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.