चिनियाँ राजदूतलाई सचेत गर्न समितिको निर्देशन

काठमाडौं । संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले चिनियाँ राजदूतलाई सचेत गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको व्यापारका विषयमा दिएको अभिव्यक्तिबारे सोधपुछ गरेर सचेत गर्न संसदीय समितिले बिहीबार निर्देशन दिएको हो।

त्यसअघि बैठकमा सांसदहरूले राजदूत सोङले नेपाल भारत विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति तिब्र असन्तुष्टि जनाएका थिए। सांसदहरूले चीनले नेपालको अन्य देशसँग भइरहेको सम्बन्धका बारेमा बोल्न नमिल्ने बताएका थिए।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा आउने राजदूतहरूले मुलुकको भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिएर अभिव्यक्ति दिनुपर्ने बताए। उनले कसैको अभिव्यक्तिबाट नेपालमा जटिलता थपिनु नहुनेमा सबैले ध्यान पुर्‍याउनुपर्ने बताए।

नेकपा (एमाले)का सांसद भीम आचार्यले नेपालको आन्तरिक मामिलामा कुनै पनि देशले बोल्नु राम्रो नभएको उल्लेख गरे। उनले चिनियाँ राजदूतको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रष्ट पारेपछि मात्रै आफूहरूले थप दृष्टिकोण राख्ने बताए।

नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा तेस्रो पक्षले टिप्पणी गर्ने परम्परा बस्न दिनु नहुने बताए। उनले अरुको घरेलु मामिलामा बोल्नु अन्तर्राष्ट्रिय कुटनीतिको हिसाबले पनि बेठिक भएको बताए। यस विषयमा चिनियाँ राजदूतलाई सतर्क गराउन परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले राजदूतहरूले नेपालको अन्य देशसँगको सम्बन्धका बारेमा टिप्पणी गर्न थालेमा देश भू–राजनीतिक जटिलतातर्फ जाने बताए।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले चिनियाँ राजदूतको अभिव्यक्ति घोर आपत्तिजनक भएको टिप्पणी गरे। उनले यो गम्भीर कुरा भएको भन्दै दुई देशको सम्बन्धमा तेस्रो देशले अभिव्यक्ति दिनु शोभनीय नभएको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले चिनियाँ राजदूतको अभिव्यक्तिको सम्बन्धमा सरकारले उनलाई बोलाएर सचेत गराउनुपर्ने बताए। राजदूतहरूले अन्य देशसँगको सम्बन्धको बारेमा अभिव्यक्ति दिने कुरालाई रोक्नुपर्ने बताए।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तत्कालीन भारतका लागि नेपाली राजदूतले चीनसँगको सम्बन्धको बारेमा टिप्पणी गरेको भन्दै त्यस विषयमा पनि छलफल गर्नुपर्ने बताए।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेपाल–भारत सम्बन्धमा चीनले बोल्नु जरुरी नभएको बताए। आगामी दिनमा यसरी अभिव्यक्ति दिने कुरामा सुधार गर्नुपर्ने उनको भनाइ छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.