काठमाडाैं । तातोपानी नाकाबाट धमाधम रक्सी तस्करी भइरहेको तथ्य बाहिरिएको छ । जब रात पर्छ प्रहरीकै संलग्नता रक्सी तस्करी हुन्छ। प्रायः रातको १२–१ बजे चिनियाँ भू–भागबाट भोटेकोशी नदी तारेर नेपालपट्टि रक्सी तारिन्छ।
रात परेपछि तस्करहरू सक्रिय हुन्छन् । सीमाबाट रक्सी बोकेर राति बाह्रबिसेतर्फ आउँदै गरेको बा.२०च ६२०९ नम्बरको बोलेरो डाक्लाङमा पल्टिएपछि रक्सी तस्करी भइरहेको तथ्य खुलेको हो । बोलेरोमा पाँच कार्टुन चिनियाँ रक्सी थियाे ।
जनपथ प्रहरीको तातोपानी क्षेत्र हेर्ने प्रमुखले तस्करसँग मिलेर रक्सी तस्कर गरेको स्थानीयको आरोप छ। जनपथ प्रहरीको जुन प्रमुख रहँदा पनि तस्करसँग मिलेर रातभर रक्सी तार्ने गरेको स्थानीयको गुनासो छ। चिनियाँ रक्सी अत्यन्तै कडा हुन्छ। टाइगर नामको रक्सीले मानिसको ज्यानै लिन सक्छ। सरकारले अर्काे मुलुकबाट स्वदेशभित्र जुनसुकै रक्सी ल्याउन पनि प्रतिवन्ध लगाएको छ । तर, तातोपानी नाकामा प्रहरीकै मिलेमतोमा रक्सी ल्याइन्छ ।
रक्सी मात्रै होइन, रातको समयमा अन्य अवैध सामान तस्करी हुने गरेको आशंका गरिएको छ । यद्यपि, जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले तस्करी भएका रक्सी प्रहरीले बरामद गरेर नष्ट गरिरहेको जानकारी दिए । ‘भर्खरै खुला भएको नाका हो । तस्करीकै स्तरमा भएको होइन । यदि कसैले गर्छ भने त्यसको कडाइपूर्वक नियन्त्रण गरिनेछ,’ उनले भने । गत महिना पनि प्रहरीले तस्करी गरिएका चिनियाँ ब्रान्काड रक्सी नष्ट गरेको थियो ।
