चिनियाँ भन्सारको नयाँ नियमले आयात प्रभावित

सिन्धुपाल्चाेक । उत्तरी नाका खासा र केरुङमा चिनियाँ राजस्व कार्यालयले कडाइ गर्न थालेपछि नेपालतर्फको आयात प्रभावित भएको छ । तिब्बत भन्सारमा बोर्डर ट्रेडअन्तर्गत निकासी हुने वस्तुको घोषणा गरेको तथा त्यहाँस्थित राजस्व कार्यालयले १३ प्रतिशत करको विषय उठाएकाले ट्रान्सपोर्ट कम्पनीहरू अलपत्र परेका छन् ।

केही दिनदेखि केरुङबाट नेपालतर्फ आयात व्यापार बन्द रहेको र खासामा पनि बन्द हुने अवस्था आएको एक ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिले बताए । सीमास्थित चिनियाँ राजस्व कार्यालयले नेपाली व्यापारीले चिनियाँ सहरबाट खरिद गरेको सामानको विवरण र करको प्रमाण माग गरेकाले ट्रान्सपोर्ट कम्पनीहरू यतिवेला हैरानीमा परेका हुन् ।

नेपाल–चीन व्यापारमा चीनबाट नेपालतर्फ निकासी हुने सामग्रीको कुनै पनि कर नलाग्ने (ट्याक्स फ्री) सम्झौता छ । ‘हामीले वर्षौँदेखि चिनियाँ सहरबाट ट्याक्स फ्री र सहज रूपमा सामान ल्याइरहेका छौँ,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले भने, ‘चिनियाँ कम्पनीले नेपाली व्यापारीलाई बेचेको सामानको करबारे ऊ आफैँ जिम्मेवार हुन्छ, हामी हुन्नौँ ।’

तातोपानी भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले चिनियाँ भन्सारमा सामानको घोषणा गर्ने विषयमा नयाँ नियम लागू भएको हुन सक्ने बताए । ‘आधिकारिक रूपमा हामीलाई केही जानकारी छैन । तर, चिनियाँ भन्सारले नेपालतर्फ निकासी गर्ने सामानको चेकजाँचमा कडाइ गरेको हुन सक्छ ।’

ट्याक्स फ्री नियम नेपाल–चीनबीचको पुरानो सम्झौता भएकाले चिनियाँ सहरमा रहेका व्यापारी कम्पनीले तिर्ने राजस्वमा नेपाली व्यापारीलाई असर नपर्ने उनले प्रस्ट्याए ।

खासा र केरुङमा रहेका चिनियाँ ट्रान्सपोर्ट कम्पनीले भन्सार फाराम भर्दा निकासी कर, कम्पनीको नाम र सामानको विवरण भर्नुपर्ने नयाँ नियम लागू गरिएको छ । जसमा नेपाली व्यापारीले कुन कम्पनीबाट सामान खरिद गरेको हो र सो कम्पनीले कर तिरेको छ–छैन, उल्लेख हुनुपर्छ । यस्तो नियमले नेपालतर्फ आयात प्रभावित भएको हो ।

खासामा काम गर्ने ट्रान्सपोर्ट कम्पनीले भन्सार फाराम भर्दा सामान ल्याउने कम्पनीको नाम लेख्नुपर्छ । अहिले फाराम भर्ने कम्पनीले १३ प्रतिशत कर तिर्नुपर्ने त्यहाँस्थित राजस्व कार्यालयले बताएपछि ट्रान्सपोर्ट कम्पनीहरू व्यापार बन्द गर्ने तयारीमा रहेका छन् । नयाँ नियमबारे ट्रान्सपोर्ट कम्पनीहरू मुसा, खासा, आडो र सिल्क कम्पनीबीच छलफल जारी रहेको छ । नेपाली व्यापारीले खरिद गरेको सामान तिनै ट्रान्सपोर्ट कम्पनीले जिम्मा लिएर नेपालको सिमानासम्म ढुवानी गर्दै आएका छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.