बीआरआईको ऋणलाई अनुदानमा परिणत गर्न पोखरामा प्रदर्शन

पाेखरा । चीनको विरोधमा पोखरामा प्रदर्शन गरिएको छ। चिनियाँ महत्त्वाकाङ्क्षी रूपमा रहेको आर्थिक सहयोग बीआरआई परियोजना मुलुकको लागी ऋण जाल भएको भन्दै पोखरामा प्रदर्शन गरिएको हो। राष्ट्रिय एकता अभियान, पोखराले ऋणमुक्त र स्वाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि सचेतना र्‍याली निकाल्दै प्रदर्शन गरेको छ।

अभियानका केन्द्रीय सदस्य ईश्वर लामाको नेतृत्वमा गरिएको विरोध प्रदर्शनमा पोखरा विमानस्थललाई ऋण जालबाट मुक्त गर,विमानस्थल पूर्ण रूपले सञ्चालन गर,राष्ट्रिय स्वाधीनताको रक्षा गर, बीआरआई ऋणलाई अनुदानमा परिणत गर जस्ता नारा लगाइएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ ऋण अनुदानमा परिणत गरियोस् भन्दै मुख्य माग सहित निकालिएको र्‍याली पोखराको सभागृह अगाडिबाट सुरु भई नगर परिक्रमा गरी पृथ्वी चौक मा पुगेपछि कोण सभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै प्रमुख अतिथि अभियानका केन्द्रीय संयोजक विनय यादवले अप्रत्याशित रूपमा बढेको चिनिया सक्रियताले मुलुकको राष्ट्रिय स्वाधिन्ता खतरामा परेको आरोप लगाएका थिए। संयोजक यादवले आर्थिक सहयोगको बहानामा देखिएको चीनको सक्रियता र सहयोग दुवै नेपाल र नेपाली जनताको भविष्य खतरामा डुब्दै गएको बताउँदै राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्न ठुलो आवश्यकता रहेको बताउनु भयो। उनले आउने समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि चीनले दिएको सहयोग नेपालको लागी ठुलो ऋण जाल साबित हुने ठोकुवा गरे।

संयोजक यादवले पोखरा विमानस्थलमा देखिएको आर्थिक घाटा पूर्तिको बहानामा चिनिया सेना पोखरामा ल्याउने ठुलो खेल भइरहेको आरोप समेत लगाएका थिए। नेपालको सार्वभौमसत्ता माथि बढ्दै गएको खतराबाट समयमै सचेत हुन सबै नेतालाई आफूहरूले पटक पटक अनुरोध र आहान गर्दै आएपछि घैँटोमा घाम नलाग्नु दुखको कुरा भएको संयोजक यादवको भनाइ थियो।

यादवको भनाइमा समर्थन गर्दै अन्य वक्ताहरूले राष्ट्रिय एकता, विकास र समृद्धिका लागि नेपालले चीनसँग गरेको बीआरआई सम्झौता अविलम्ब खारेजीको माग गरेका थिए। कार्यक्रमका अरू वक्ताहरूले राष्ट्रिय स्वाधीनताको महत्त्व,मुलुकमा देखिएको आर्थिक तरलता र बीआरआई आर्थिक सहयोग भन्दा पनि मुलुकको लागी ठुलो ऋण जाल भएको कुरामा जोड दिएका थिए। वक्ताहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्ययभारबाट भविष्यमा हुने ठुलो आर्थिक नोक्सानीबाट जोगिन अहिलेको मुख्य आवश्यकता रहेको बताएका थिए।

कार्यक्रमका सुनिल धामीले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै तराईमा बढ्दै गएको चिनियाँ सक्रियताबाट सचेत हुन मधेस प्रदेश सरकारका मन्त्री लगायत सबै नेताहरूलाई आहान गरेका थिए ।कार्यक्रम सञ्चालन शेरबहादुर विश्वकर्माले गरेका थिए।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.