एक सय ३५ रनको सामान्य चुनौती पछ्याएको नेपालको आक्रामक शुरुआत

काठमाडौँ । दोस्रो पटक विश्वकप टी–२० खेल्न आतुर रहेको नेपालले अहिले चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेलिरहेको छ ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि नेपालले १३५ रनको सामान्य चुनौती पछ्याइरहेको छ । नेपालले आक्रामक शुरुआत गरेको छ ।

सो क्रममा ३ ओभरमा २६ रन जोड्दा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल व्यक्तिगत ११ रन बनाएर आउट भएका छन् ।

यसअघि टस जितेर यूएईले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रन बनायो ।

भृत्तिय अरविन्दले सर्वाधिक ६४ रन बनाए । त्यस्तै कप्तान मुहम्मद वासिमले २६ तथा अलिशान शराफूले १६ रन जोडे ।

नेपालका लागि कुशल मल्लले ११ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।

उत्कृष्ट फिल्डिङ गरेको नेपालले दुई खेलाडीलाई रनआउट गरेको थियो ।

नेपाल समूहको उपविजेता हुँदै सेमिफाइनलमा अर्को समूहको विजेता यूएईलाई प्रतिद्वन्द्वी पाएको हो ।

विश्वकप एक दिवसीयकोसमेत अनुभव बटुलिसकेको यूएई अझै पनि नेपालजस्तै एसोसिएट राष्ट्रमै रहेर संघर्ष गरिरहेको छ ।

नेपालको भन्दा धेरै अनुभव भएको भए पनि नेपालले यूएईलाई नै हराएर एक दिवसीय विश्वकपको सिधै छनोट चरणमा प्रवेश गरेको थियो ।

यूएईलाई नै हराएर नेपालले एक दिवसीय मान्यतालाई कायम गरेको थियो भने यूएईलाई नै हराएर नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाएको थियो ।

अब फेरि यूएईलाई नै हराएर नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न चाहन्छ । यसअघि नेपाललाई नै हराएर टी–२० विश्वकप खेलेको यूएईमाथि घरेलु मैदानमा बदला लिएर विश्वकप खेल्नेमा विश्वस्त देखिएको छ ।

नेपालले पहिलो पटक सन् २०१४ को बंगलादेश टी–२० विश्वकप खेलेको थियो भने एक दशकपछि सन् २०२४ को जुन ४ देखि ३० सम्म वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकप खेल्न आतुर देखिएको हो ।

नेपालको पछिल्लो ६ महिनाको मात्र नतिजालाई हेर्ने हो भने पनि यूएईले भन्दा निकै माथि फड्को मारिसकेको छ । यसले पनि घरेलु मैदान, आफ्नै दर्शक र टिमको बलियो क्षमताका कारण पनि नेपालको आजको परिणाम सकारात्मक आउने अपेक्षा गरिएको छ ।

दोस्रो सेमिफाइनल
अर्को सेमिफाइनलमा त्रिविविको मैदान कीर्तिपुरमा ओमान र बहराइन भिडिरहेका छन् । ओमानले १०७ रनको झिनो चुनौती पछ्याइरहेको छ ।

खेलमा पहिले ब्याटिङ गरेको बहराइनले ९ विकेटको क्षतिमा १०६ रन बनायो । इमरान अलीले सर्वाधिक ३० रन बनाएको इनिङ्समा अकिब इल्यासले ४ विकेट लिए ।

छनोटको फाइनलमा पुग्ने दुवै टिम विश्वकपमा पुग्नेछन् ।

विश्वकपमा वरीयताप्राप्त १२ टिमहरुले स्वतः विश्वकप खेल्नेछन् भने बाँकी ८ टिमको अहिले भइरहेको छनोट जस्तै तरिकाले छनोट भइरहेको छ ।

२०२४ को विश्वकपमा २० टिम सहभागी हुनेछन् ।

Facebook Comments