उपेन्द्र यादवले एमाले सँग गरेको चुनावी गठबन्धनबाट धोखा, एमाले कार्यकर्ताले असहयोग गर्दै

राजविराज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई नेकपा ( एमाले) सँग गरेको चुनावी गठबन्धन निल्नु न ओकल्नु भएको छ ।
एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको बरु उल्टै एमालेले फाइदा लिएको जसपाका नेताहरूको बुझाइ छ ।

यादव सप्तरी आएकोे बेला दुई दिन अगाडि उनलाई स्थानीय नेताहरुले एमालेसँगको गठबन्धनले पार्टीलाई फाइदा नपुगेको विफिङ गरेका थिए । ‘अध्यक्ष ज्यु सुन्न मात्र भयो । प्रतिक्रिया दिनु भएन । तर उहाँले पनि पनि यो महशुस गर्नु भएको जस्तो लाग्छ’ जसपा सप्तरीका एक नेताले भने ।

एमालेसँगको गठबन्धनले सबैभन्दा नोक्सान जसपाका नेता इस्तियाक रार्ईलाई भएको छ । रार्ईले बाँके २ मा उम्मेदवारी दिएका छन् । त्यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवलशमशेर राणाले पनि उम्मेदवारी दिएका छन् । एमालेले राणालाई सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।

त्यसै क्षेत्रमा रार्ईकै भतिजा सामसुल राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अघिल्लो पटक इस्तियाक शहरी विकास मन्त्री हुँदा सामसुल इस्तियाकको स्वकीय सचिव थिए । अहिले उनको पहिलो मिशन नै इस्तियाकलाई हराउनु हो । इस्तिायकलाई हराउनकै लागि सामसुलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसपाले एमालेसँग गठबन्धन गर्ने बित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवाले इस्तियाकलाई सरकारबाट हटाएका थिए । एमालेसँगको गठबन्धनबाट इस्तियाकको मन्त्री पद मात्र गएन चुनावमा जित्ने सम्भावना पनि ह्वात्तै घटेको छ ।

बाँके २ मा नेपाली कांग्रेसबाट उम्मेदवार सुदिपनरसिंह राणाले उम्मेदवारी दिएका छन् । त्यहाँ राणाले चुनाव जित्ने सम्भावना बढेको छ । कडा प्रतिष्पर्धा धवल र सुदिपबीचमै हुने देखिएको छ । आफू नै अप्ठेरोमा परेका अध्यक्ष यादवले अब आफू पछिका दोश्रो नेता अशोक राईलाई जिताउन नसक्ने भएका छन् । जसपा विभाजन हुने बेला निर्णायक समयमा राईले यादवलाई साथ दिएका थिए ।

त्यसको गुन तिर्न यादवले यसपटक राईलाई जसरी पनि चुनाव जिताउने आश्वासन दिएका थिए । तर सुनसरी १ मा एमालेले राईलाई धोका दिएको छ । त्यस क्षेत्रमा जसपाबाट राईले उम्मेदवारी दिएका छन् ।

त्यसै क्षेत्रमा एमालेका नेता मनोज म्याङन्मोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । म्याङन्मो धरानका पूर्व मेयर पनि हुन् । त्यसैले धरानमा उनको प्रभाव छ । एमालेका स्थानीय नेताहरु म्याङन्मोको पक्षमा खुलेर प्रचार गर्न थालेका छन् । यसबाट राईको जित्ने सम्भावना घटेको छ । सुनसरी १ मा कांग्रेसबाट सिताराम महेताले उम्मेदवारी दिएका छन् । पछिल्लो समय मेहताको पक्षमा माहोल बढ्दै गएको छ । राई भने कमजोर देखिएका छन् ।

यस्तै स्थिति मोरङमा पनि छ । एमाले र जसपाबीच वार्ता हुँदा मोरङ ५ मा एमालेले जसपालाई छाड्ने सहमति भएको थियो । जस अनुसार मोरङ ५ मा जसपाले राजकुमार यादवलाई उम्मेदवार बनायो । तर त्यही क्षेत्रमा एमालेका नेता योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिए । मोरङ एमालेका नेताहरुले अहिले मण्डलको पक्षमा खुलेर प्रचार प्रचार गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली भने मौन छन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.