ओलीको शैली अपनाउँदै प्रमुख निर्वाचन आयुक्त थपलिया, निर्वाचन हुन नसक्ने चेतावनी

काठमाडौं । निर्वाचन गराउने प्रमुख जिम्मेवारी पाएका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ओलीको शैलीमा सार्वजनिक रुपमा धम्की दिन थालेका छन्। ओलीइतर पार्टी र व्यक्तिप्रति आक्रामक देखिएका थपलियाले भूकम्प ल्याउने धम्की दिएका छन्।

उनले केही दिनमा मुलुकमा आचारसंहिता पालनामा कडाइ गरेर भूकम्प ल्याउने चेतावनी दिएका हुन्। ‘निर्वाचन सम्बन्धी कानूनलाई टेकेर आयोगले ५–७ दिनभित्रमा एउटा निर्णय गर्दै छ। त्यो निर्णयले भूकम्प नै ल्याउन सक्छ,’ उनले भने।

यसरी निर्वाचनलाई शान्त र भयरहित वातावरणमा निर्वाचन सम्पन्‍न गराउने जिम्मेवारी पाएको व्यक्तिले निरन्तर सार्वजनिक धम्की र चेतावनी दिइरहेका छन्।

प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार आयोजित प्रदेश स्तरीय सञ्चार माध्यम सम्बन्धी अभिमुखीकरणलाई सम्बोधन गर्ने क्रममा राजनीतिक दलप्रति लक्षित गर्दै उनले आफैँले बनाएको कानून उल्लंघन गर्ने अधिकार कसैलाई पनि नभएको स्पष्ट पारेका छन्।

‘आफैँले दस्तखत गरेर बनाएको कानून उल्लंघन गर्न नहिचकिचाउने परिपाटी छ। एउटा स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाउने प्रवृति छ,’ उनले भने, ‘यस्तो प्रवृति आयोगका लागि चुनौती हो।’ उनले निर्वाचन हुन नसक्ने चेतावनीसमेत दिएका हुन्।

आचारसंहिता पालनाका विषयमा निर्वाचन आयोगले कानूनबाहेक अरु कसैलाई पनि नचिन्‍ने उनले बताए। उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्नु कारबाही नभएको र प्रक्रियाको सुरुवात मात्रै भएको थपलिया बताउँछन्।

‘स्पष्टीकरण सोध्नु भनेको माकुराको जालोमा झिँगो पस्नु हो। निस्कन सक्यो भनेर बाँच्छ,’ थपलियाले भने, ‘हैन भने सकिन्छ। स्पष्टीकरण मात्रै सोधेकाले अहिले नै आयोगले कसैलाई कारबाही गरिसकेको छैन।’

उनको भनाइ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित रहेको हो। आचार संहिताको उल्लंघन गरेर चुनावी प्रचार गरेको भन्दै नेपाललाई कारबाहीका लागि आयोगले रौतहट प्रहरीलाई लिखित निर्देशन दिएको छ। त्यो विषयमा अनेक चर्को आलोचना भएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.