काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन काठमाडौं आइपुगेका छन् । राजदूत र्याण्डी बेरीले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर बिदा लिएपछि नवनियुक्त राजदूत थम्पसन बिहीबार काठमाडौं आइपुगेका हुन् ।
श्रीमतीसहित काठमाडौं आएका राजदूत थम्पसनले केही दिनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । ‘आउँदा केही दिनहरू राजदूत थम्प्सन, वहाँकी पत्नी जेनसमेत वहाँहरूको पारिवारिक कुकुर बोगीले नयाँ वातावरणमा अभ्यस्त हुन र नेपालस्थित अमेरिकी मिशन परिवारसँग भेटघाट गर्नमा बिताउनुहुनेछ ।
त्यसपछि राजदूत थम्प्सनले नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुहुनेछ,’ दूतावासले जनाएको छ । हालका राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएर गएका छन् ।
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतको शपथ खाएका थम्पसन यसअघि अमेरिकाका लागि दक्षिण तथा मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव थिए । थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ ।
उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रूपमा समेत काम गरेका छन् ।
रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव बोकेर आएका थम्पसनको कार्यकाल पनि उत्कृष्ट हुने कुटनीतिक मामिलाका जानकार बताउँछन् ।