रूपन्देहीमा भारतीय सहयोगमा निर्मित विद्यालय भवनकाे उद्घाटन

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शनिबार भारतीय आर्थिक सहयोगमा रुपन्देही जिल्लामा निर्मित विद्यालय परियोजना उद्घाटन गरेका छन्। रोहिणी गाउँपालिका, धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि भारतीय सहयोगमा विद्यालय तथा प्रयोगशाला भवन निर्माण सम्पन्न भएको हो।

भारतीय राजदूतावासका अनुसार नेपालब–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत २ करोड ९ लाख रुपैयाँ भारत सरकारको अनुदान सहयोगमा विद्यालय र प्रयोगशाला भवन निर्माण भएको हो। जिल्ला समन्वय समिति रुपन्देहीले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा भवन निर्माण गरेको हो।

‘यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यसवर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो,’ भारतीय राजदूतावासद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ।

सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ। दूतावासका अनुसार स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन्। रुपन्देही जिल्लामा १२ समेत गरी लुम्बिनी प्रदेशमा भारतीय सहयोगका ६० वटा परियोजना सम्पन्न भएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.