रातो ल्यान्डक्रुजरदेखि ६ रोपनी जग्गासम्म रोक्का: इच्छाराजको ‘इच्छा’ माथि अदालतले लगायो ब्रेक

काठमाडौं। जिल्ला अदालत काठमाडौंले ठगी तथा संगठित अपराध कसुरमा पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सम्पत्ति रोक्का गर्न आदेश दिएको छ। सरकारी वकिल कार्यालय काठमाडौंको माग बमोजिम गत बुधबार अदालतले घरजग्गा रोक्का गर्न आदेश दिएको हो।

लामो समयको पुर्पक्षपछि न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र अर्का प्रतिवादी केशवलाल श्रेष्ठलाई पनि अदालतले थुनामा राख्न आदेश दिएको छ। श्रेष्ठ सिभिल सहकारीका अध्यक्ष हुन्।

इच्छाराज, उनकी श्रीमती र आफन्तको नाममा अर्बौंको सम्पत्ति रहेको खुलेको छ। काठमाडौंको कीर्तिपुरमा मात्र उनी, श्रीमती सृजना शाक्य तामाङ तथा छोरीहरू प्रतीक्षा र प्रतिष्ठाका नाममा ३२ स्थानमा घरजग्गा रहेको छ।

त्यस्तै, तामाङले सञ्चालन गरेको सिभिल होम्स, सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी, सिभिल अपार्टमेन्ट प्रालि र सिभिल स्टेट् प्रालिको नाममा रहेको १ सय १२ वटा घर तथा जग्गासमेत रोक्का भएका छन्। चारवटा कम्पनीको नाममा रहेको ४४ हजार १ सय ५२.९७ वर्गमिटरमा (८६.७८ रोपनी) फैलिएका जग्गा रोक्का भएको हो।

त्यतिमात्र होइन, सहकारी संस्थाको नाममा रहेको बा११च ३७७७ नम्बरको ल्यान्डक्रुजर गाडीसमेत हस्तान्तरण गर्न नपाउने गरी रोक्का गरिएको छ।

सिभिल स्टेट् प्रालि सुन्धाराको नाममा कित्ता नम्बर २४२४ भएको ३ हजार ४८.९६ वर्गमिटर जग्गा रोक्काको लागि माग गरिएको थियो। यो करिब ६ रोपनी जग्गा हो। त्यस्तै, सिभिल अपार्टमेन्ट प्रालिको नाममा ललितपुर धापाखेलमा १ सय २७.१६ वर्गमिटरमा जग्गा छ।

‘हामीले माग गरेका सबै जग्गा तथा सम्पत्तिहरू रोक्का गर्न अदालतले आदेश दिएको छ,’ सरकारी वकिल कार्यालयका सह न्यायाधीवक्ता गंगा पौडेलले भने।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूको नाममा रहेको ९८ रोपनी जग्गा रोक्का गर्नसमेत माग गरेको छ। उनले श्रीमतीको नाममा सबैभन्दा धेरै घरजग्गा जोडेको देखिएको छ। ३२ वटा अचल सम्पत्तिमध्ये २५ वटा घरजग्गा श्रीमतीको नाममा छ।

काठमाडौंको कीर्तिपुर नगरपालिकामा ५७.३० वर्गमिटर अर्थात् दुई आनाभन्दा पनि कम क्षेत्रफलको जग्गा इच्छाराज तामाङको नाममा रहेको छ। सोही जग्गासँग प्रतीक्षा तामाङको नाममा ५ सय ५८.९५ वर्गमिटर (एक रोपनीभन्दा केही माथि) जग्गा छ। तामाङसहित श्रीमती र दुई छोरीको नाममा कीर्तिपुरमा मात्र घरसहित ६ हजार १ सय ३२.८९ वर्गमिटर (१२ रोपनी) जग्गा छ।

त्यसबाहेक, विभिन्न बैंकका सेयर र मौज्दात रकमसमेत छ। सिभिल बैंकमा मात्र संस्थापक सेयर संख्या ४ लाख ४८ हजार ६ सय कित्ता रहेको इच्छाराजले नै बताएका छन्। रोक्का हुन लागेको ९७ रोपनी मध्ये बाँकी (७९ रोपनी) जग्गा इच्छाराजले सञ्चालन गरेको सिभिल होम्स र सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीको नाममा छ।

ललितपुरको सुनाकोठीमा रहेको जग्गा रोक्का गरिन लागेको हो। सिभिल होम्सको नाममा ४० वटा जग्गा रहेको देखिएको छ। जसमा सबैभन्दा कम ५.९७ वर्गमिटर रहेको देखिन्छ। सामान्यतः १ सयदेखि १ हजार ५ सय वर्ग मिटरमा ओगटेका जग्गा छ। ललितपुरको धापाखेलमा रहेको वडा नम्बर १/१ङ मा भने १ हजार ५ सय ५.२७ वर्ग मिटरमा (करिब तीन रोपनी) जग्गा छ।

तामाङले सञ्चालन गरेको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारीको नाममा रहेको ४० वटा कित्ता जग्गासमेत रोक्का हुने भएको छ। इच्छाराजले २०५७ सालमा सिभिल क्रेडिट एन्ड सहकारी संस्था खोलेका थिए। उनी नै सहकारीको अध्यक्ष समेत भए। त्यतिखेर उनी ऋण उपसमितिका प्रमुख थिए। उनले २०६७ सालमा भने केशवलाललाई अध्यक्ष बनाए।

ऋण उपसमितिमा इच्छाराजको ठाउँमा केशवलाल नै आए। अहिले पनि केशवलाल नै सहकारीको अध्यक्ष हुन्। सहकारीभित्र जे भयो त्यसमा यिनै दुई जनाको प्रमुख योजना र मिलेमतो रहेको देखिएको छ। २२ सयभन्दा बढी निक्षेपकर्ताले बचत गरेको रकम सहकारीले गुरुङलाई नै ऋणको रूपमा दिएको देखिन्छ।

सहकारीको नाममा सबैभन्दा धेरै जग्गा धापाखेलको कित्ता नम्बर ४८९ छ, जसको क्षेत्रफल २ हजार ६ सय २७.१६ वर्गमिटर छ। ललितपुरको सुनाकोठीको कित्ता नम्बर १०१७ मा १ हजार ९ सय ७.७ वर्गमिटर जग्गा रहेको देखिन्छ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। प्रहरीले हाजिर गराएका १२ मध्ये ९ प्रतिवादीलाई अदालतले धरौटीमा रिहाको आदेश गरेको छ। एक जनालाई साधारण तारेखमा छाडेको छ। साधारण तारेखमा रिहा हुनेमा संगीत श्रेष्ठ छन्।

अदालतले प्रतिवादी हरिहर लामिछानेलाई ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। यस्तै, विजयविक्रम शाहीसँग १५ लाख, भगवान डंगोलसँग १० लाख धरौटी माग गरेको थियो। यस्तै, प्रतिवादीहरू बुद्धराज तामाङसँग ५ लाख, कस्तुभ केतन ढुंगानासँग ५ लाख, एलिना तुलाधरसँग ५ लाख, र मायानानी महर्जनसँग ५ लाख रुपैयाँ धरौटी मागेको थियो।

अदालतले शंकरप्रसाद पाठकसँग दुई लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ। तामाङलगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो। जिल्लाको पुर्पक्षको आदेशमा चित्त नबुझाए तामाङ र श्रेष्ठले एक तह माथिल्लो अदालतमा निवेदन दिन पाउनेछन्।
साभार बीजमान्डू

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.