प्रचण्डलाई आफ्नै बोली बोझ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग आफ्नो गोत्र मिल्ने बताएका छन्।

मुलुकमा राजतन्त्र अन्त्य गर्न अग्रणी भूमिका निर्वाह गरेका दाहालले राजतन्त्र पुनस्र्थापना गर्नुपर्ने अजेन्डासहित अघि बढिरहेको राप्रपासँग आफ्नो गोत्र मिल्ने बताएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ। राप्रपाको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन्।

यसअघि दाहालले पतञ्जली योगपीठको भवन उद्घाटन कार्यक्रमलाई मण्डीखाटारमा सम्बोधन गर्दै योगगुरु रामदेवलाई वैज्ञानिक र क्रान्तिकारी भनेका थिए। ‘सुरुसुरुमा लाग्थ्यो उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला,अलि बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदोरहेछ, क्रान्तिकारी हुनुहुँदोरहेछ,’ रामदेवको प्रशंसा गर्दै दाहालले भनेका थिए।

सशस्त्र संघर्षताका माओवादीको निसानामा धार्मिक स्थल, धर्मगुरुहरूसमेत परेका थिए। दाहालको उक्त अभिव्यक्तिपछि कतिपयले युद्धकालमा माओवादीले पण्डित नारायण पोख्रेलको हत्या किन गरेको भन्दै प्रश्नसमेत गरेका थिए।

गत असोज १४ गते माओवादी केन्द्र निकट विद्यार्थी संगठनको २२ औं सम्मेलनमा भावुक हुँदै दाहालले आफूसँग फेरि लडाइँ लड्ने वा आत्मसमर्पण गर्ने विकल्प भए पनि लडाइँ गर्ने अवस्था नभएको र आत्मसमर्पण पनि गर्न नसक्ने भन्दै तर सुसाइड (आत्महत्या) गर्ने अर्को विकल्प भने रहेको बताएका थिए।

तर आफू त्यसबाट अघि बढेको उनको भनाइ थियो। आफ्नो तर्कलाई बल पु¥याउन उनले आत्महत्या सबै नराम्रो मात्रै नहुने भन्दै माक्र्सका छोरी ज्वाइँले पनि आत्महत्या गरेको बताएका थिए।

गत भदौ २३ गते सुरेश वाग्ले स्मृति दिवसमा बोल्ने क्रममा दाहालले माओवादीहरू बिग्रिसकेको बताएका थिए। ‘हामी बिग्रेका छौं। हामी अहिले व्यक्तिगत पद, प्रतिष्ठा, पैसा, स्वार्थ, समूह, गुट, बनाउने र आफूलाई व्यक्तिगत रुपमा सुरक्षित राख्ने जस्ता कुराबाट अलि बढी ग्रस्त छौं,’ उनले भनेका थिए।

एमालेजस्तै हुने हो भने माओवादी पार्टी किन चाहियो भन्ने बहस उठेको उल्लेख गर्दै उनले यस्तै पार्टी रहिरहने हो भने बरु विघटन गरिदिए हुन्छ भनेका थिए।‘यस्तो पार्टी चलाएर हामी क्रान्ति गर्छौं भन्दै प्रतिक्रान्ति गर्नु भनेको जनतालाई धोका दिनु हो। बरु त्योभन्दा विघटन गर्ने हो कि भन्ने छलफल चल्न थालेको छ आजभोलि,’उनले भनेका थिए।

भदौ ३० मा आयोजित पोष्टबहादुर बोगटी स्मृति दिवसमा बोल्ने क्रममा पनि उनले माओवादी हिजोको विरासतबाट विचलित भएको अभिव्यक्ति दिएका थिए। असोज ४ मा सूर्यनाथ राना यादव स्मृति दिवसमा धारणा राख्ने क्रममा दाहालले माओवादी पनि एमालेजस्तो हुन थालेको भन्दै पार्टीभित्र झुटमुट, बेइमानी, जालझेल, ठगठाग, जसरी पनि पद प्राप्त गर्ने, गुटैगुट र पद प्रतिष्ठाका लागि विचार, सिद्धान्त र निष्ठालाई पोलेर खाने प्रवृत्ति देखिन थालेको बताएका थिए।

‘माओवादीले पनि एमालेले जस्तै गर्न थालेपछि कतिपयले आफूहरूलाई खाओवादी भन्न थालेको उनको भनाइ थियो। ‘व्यवहारमा जनतालाई माओवादी, एमाले र कांग्रेस छुट्याउन गाह्रो भएको छ,’ उनले भनेका थिए।

असोज ७ गते वाइसिएल पाँचखाल नगर सम्मेलनमा दाहालले माओवादीमा तल्लो तहका कार्यकर्ता नबिग्रिएको बताएका थिए। ‘चुनाव जितेका टाठाबाठा माओवादी बिग्रिए। जसलाई धेरै मन्त्री बनाएँ तिनै सबैभन्दा ठूलो भगौडा भए। भ्रष्टाचार खुब गरेको छ, ठगठाग गरेको छ, ठेक्कापट्टा पाउन मरिहत्ते गरेको छ। कमिसन खान मरिहत्ते गरेको छ तर मचाहिँ बिग्रिएको छैन भन्ने लाग्ने फेरि,’ दाहालको अभिव्यक्ति थियो।

निरन्तर रुपमा पार्टी र आफूलाई निरीह रुपमा प्रस्तुत गरेका दाहालले यही मंसिर ८ गते कैलालीको भजनीमा आफू अहिले प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको भन्दै शक्तिशाली नै रहेको अभिव्यक्ति दिएका थिए।

दाहालले सार्वजनिक रुपमा पार्टी बिग्रिएको भन्दै निरन्तर दिएका अभिव्यक्ति उनकै लागि प्रत्युत्पादक देखिन्छन्। पार्टीले गरेका राम्रो कामको जस लिने दाहालले पार्टी बिग्रिएको दोष भने नेता–कार्यकर्तामाथि थोपर्ने प्रयास गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.