कोरोनाको कहर : ५६ जिल्लामा निषेधाज्ञा

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका ५६ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । चार जिल्लामा आजदेखि निषेधाज्ञा लागू भएको छ । बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

बारा र सिरहामा बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञा आदेश अर्को सूचना जारी नभएसम्म रहने छ । बाग्लुङको ढोरपाटन र गलकोट नगरपालिका तथा बडिगाड र निसीखोला गाउँपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । बाग्लुङकै तमानखोला र बरेड गाउँपालिकामा भोलि बिहान पाँच बजेदेखि निषेधाज्ञा सुरु हुनेछ ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग अन्तर्गत बनदेउदेखि तातोपानीसम्म, खाडीचौरदेखि ठूलोपाखर हुँदै मुडे सडकखण्डको जिल्लाभित्र, बनदेउदेखि चौतारा हुँदै स्याउलेसम्म, जिरोकिलो हुँदै बाहुनेपाटी(सिपाघाट मेलम्ची हेलम्बुको केउल सडकखण्डमा दायाँ बायाँ पाँच पाँच सय मिटरसम्म निषेधाज्ञा लगाइएको छ ।

त्यस्तै, चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११, बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ ।

अहिलेसम्म देशभर पूर्ण र आंशिक गरी ५६ वटा जिल्लामा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको हो । बाँके, सुर्खेत, काठमाण्डौ, ललितपुर, भक्तपुर कास्की, कैलाली, पर्सा, कञ्चनपुर र सुनसरी गरी १० जिल्लामा भने निषेधाज्ञा लम्ब्याइएको छ ।

मन्त्रिपरिषद्को बैठकले हिमाली र पहाडी जिल्लामा दुई सय तथा तराई तथा सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.