काठमाडौं बाहिर नजान सांसदहरुलाई महन्थ ठाकुरको निर्देशन

काठमाडौं। प्रधानमन्त्रीले विश्वासको मत लिने भन्दै वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्ना सांसदलाई काठमाडौं बाहिर नजान निर्देशन दिएका छन्।

राजनीति तरल अवस्थामा पुगेको भन्दै ठाकुरले जतिबेला जे पनि निर्णय गर्नुपर्ने हुन सक्ने भन्दै काठमाडौंमा रहेका सांसदलाई बाहिर नजान र काठमाडौ बाहिर रहेका सांसदलाई काठमाडौं फर्किन निर्देशन दिएको ठाकुर निकट स्रोतले बतायो।

‘अहिले राजनीतिक तरल अवस्थामा पुगको छ। जतिबेला जुनसुकै पनि निर्णय लिनुपर्ने हुन्छ,’ ठाकुर निकट स्रोतले भन्यो, ‘यस्तो बेलामा काठमाडौंमै रहनु भएका माननीयलाई बाहिर नजान र बाहिर रहेका माननीयलाई पनि जतिसक्यो चाँडो काठमाडौं फर्किन अध्यक्षजीले निर्देशन दिनु भएको हो।’

ठाकुरले अहिले आफूहरु सरकार परिवर्तनको पक्षमा नरहेको र मुलुकको ध्यान कोभिड नियन्त्रणमा हुनुपर्ने भन्दै वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिने संकेत गरेका छन्। ‘हामीसँग मत मागिएको त छैन तर अहिले जसपा सरकार परिवर्तनको पक्षमा छैन,’ ठाकुर निकट स्रोतले भन्यो, ‘अहिले मुलुक कोभिडले आक्रान्त छ। यस्तो बेलामा सरकार परिवर्तन गर्दा जनतामा नराम्रो सन्देश जान्छ।’

वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र दुई धार छ। पूर्व राजपा पक्ष वर्तमान सरकारको निरन्तरताको पक्षमा छ भने पूर्व समाजवादी पार्टी पक्ष वर्तमान सरकारको बहिर्गमनको पक्षमा छ। पूर्व राजपा पक्षले आफ्नो पक्षमा २४ सांसद रहेको दाबी गर्दै आएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.