कोरोना संक्रमितलाई बेड छैन भन्नु लज्जास्पदः कांग्रेस प्रवक्ता शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमितलाई बेड छैन भन्नु लज्जास्पद भएको बताएका छन् ।

    शनिबार विज्ञप्ति जारी गर्दै प्रवक्ता शर्माले कोरोना संक्रमितलाई बेड छैन भन्नु लाचारी र लज्जास्पद भएको टिप्पणी गरेका हुन्। उनले संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस दिनुपर्ने बताउँदै युद्धस्तरमा समाधान खोज्न अनुरोध गरेका छन्।

    ‘स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो।तर संकटमा अपील गरिरहंदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ।’ उनले भनेका छन्, ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ।’

    नेपाली कांग्रेसले लाचार अभिव्यक्ति बन्द गरेर कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई अपील गरेको छ। गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको ब्यवहार भएको बताउँदै उनले यस्तो निरीहता र अयोग्यताले आजको संकट पार लगाउन नसकिने प्रतिक्रिया दिएका छन्।

    Facebook Comments