कहाँ–कहाँको विद्यालय बन्द ?

काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै त्यस विषयमा अवस्था हेरेर विश्लेषण गरिने बताएका छन् ।

मन्त्री श्रेष्ठले कोभिडले बढी प्रभावित १४ जिल्ला र केही शहरका शिक्षण संस्था बन्द गर्ने निर्णय भएको बताउँदै सरकारले वैशाख मसान्तपछि बन्द गर्ने वा नगर्ने भन्ने विषयमा अवस्था हेरेर थप निर्णय हुने ललितपुरमा सोमबार आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बताए ।

उनका अनुसार सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय बन्द भएपनि भर्चुअल कक्षा भने सञ्चालन गर्ने निर्णय भएको हो।

बैठकले संक्रमणको जोखिम बढेको भन्दै काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, वीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुुर, नेपालगंज, धनगढी, भीमदत्त नगरमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई कोरोना प्रभावित जिल्लामा वर्गीकरण गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ । शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.