काठमाडाैं । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउनु भएका भारतीय परराष्ट्र सचिव विनय माेहन क्वात्राको दुई दिने औपचारिक भ्रमण आजबाट सुरु भएकाे छ ।
दुई परराष्ट्र सचिवबीच आज बिहान भएकाे भेटवार्तामा विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता–जनताबीचको सम्बन्ध लगायत भारत तथा नेपालबीचको बहुआयामिक सहयोगका विविध पक्षबारे व्यापक छलफल भएकाे थियाे ।
गत वर्ष प्रधानमन्त्रीको भ्रमणका क्रममा अन्तरदेशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, संस्कृति, व्यापार तथा वाणिज्य लगायत विविध क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा भएको प्रगतिको पनि दुवै परराष्ट्र सचिवले समीक्षा गरेका थिए ।
रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजलपुर–बर्दिबास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने सहमति जनाए ।
साथै दुई पक्षबीच प्रस्तावित रक्सौल–काठमाडौं रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई द्रुत गतिमा अगाडि बढाउने सहमति भएकाे काठमाडाैंस्थित रहेकाे भारतीय दूतावासले जनाएकाे छ ।
दुवै पक्षबीच गत वर्ष ऊर्जा सहकार्यमा भएको प्रगति बारे चर्चा गरेका थिए । अन्तर्गत नेपाल अहिले ४५२.६ मेगावाट विद्युत भारततर्फ निर्यात गर्न सक्षम भएको छ ।
यसले भारतलाई विजुली प्रदान गरेको छ भने नेपालमा थप राजस्व स्रोतको सिर्जना गरेको छ । नेपाली पक्षले दीर्घकालीन रुपमा भारततर्फ विद्युत निर्यातका लागि मार्गप्रशस्त गर्न भारतीय पक्षसँग अनुरोधसमेत गर्दै आएकाे छ ।
भारत र नेपालबीचको उर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि नेपाली पक्षले भारतलाई अनुरोध गरेकाे छ।
सन् २०२२ अप्रिलमा भारत र नेपालबीच भएको ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै दुई देशका परराष्ट्र सचिवले उपक्षेत्रीय सन्दर्भमा पारस्परिक लाभकारी सहकार्यका लागि हातेमालो गर्ने सहमति जनाए ।
विश्वमा व्याप्त कठिनाईको समयमा नेपालमा कृषि उत्पादनको सहज आपूर्तिलाई सुनिश्चित गर्न विशेष गरी नेपालका लागि भनेर चिनी, गहुँ र धानको निर्यातमा भारतले गरेका विशेष व्यवस्थालाई नेपाली पक्षले सराहना गरेकाे छ ।
दुई परराष्ट्र सचिवबीच बहुपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा पनि छलफल भएकाे थियाे । यस सन्दर्भमा भारतले यो वर्ष आफ्नो अध्यक्षतामा आयोजना हुने जी–२० फाइनान्स ट्रयाकमा सहभागी हुन नेपाललाई निमन्त्रणा दिएकाे छ ।
नेपाली पक्षले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको शिघ्र अनुमोदनका लागि प्रतिबद्धता समेत व्यक्त गरेकाे छ ।
साेही क्रममा परराष्ट्र सचिव क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ ।
भेटघाटको क्रममा दुवै पक्षले दुई देशबीचको विशिष्ट सम्बन्धलाई अझ सुदृढ गर्ने र दुई देशका जनताको हितका लागि बहुआयामिक विकास सहयोगलाई विस्तार गर्ने उपायहरुबारे छलफल गरे ।
परराष्ट्र सचिव क्वात्राले सोही दिन पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गरे।
जनता–जनताबीचको सम्बन्धले जोडेको भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत तथा साँस्कृतिक सम्बन्धको जगमा उभिएको निकट साझेदारी रहेको छ । दुई देशबीच हुदै आएको उच्चस्तरीय भेटवार्ताको परम्परा अुनुरुप यो भ्रमण भएको हो ।
परराष्ट्र सचिव क्वात्राले मंगलाबार नेपाल सरकारका वरिष्ठ अधिकारी र अन्य नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।