मन्त्री झाक्री भन्छिन्, ‘काम गरौँ न त भन्या, चुनाव आईहाल्यो’

 

शहरी विकासमन्त्री रामकुमारी झाक्रीले काम गर्न खोज्दा बाधा आईपरेको गुनासो गरेकी छिन् ।

मंगलबार राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा मन्त्री झाक्रीले आफू मन्त्री भएर आएपछि निरन्तर अन्तर मन्त्रालय संवाद गरिरहेको तर काम गर्न नसकिएको गुनासो गरेकी हुन् ।

विशेषगरी सार्वजनिक जमिनहरुको संरक्षण र तिनको उपभोगका सम्बन्धमा काम गर्न खोज्दा आफू असफल हुन परेको गुनासो सांकेतिक रुपमा मन्त्री झाक्रीले राखेकी हुन् ।

‘प्रधानमन्त्री ज्यूले मलाई पहिल्यै पनि सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने काम गर्न निर्देशन दिनुभएको थियो’ मन्त्री झाक्रीले प्रधानमन्त्री देउवाकै अगाडी भनिन्, ‘केही कामहरु गर्न पनि खोजेका थियौँ हामीले । तर, कहिले घाम लाग्छ, कहिले पानी पर्छ, जाडोमा पनि गर्न हुँदैन, गर्मीमा पनि गर्न हुँदैन, चाडवाडमा पनि कुनै काम गर्न हुँदैन, त्यसपछि चुनाव आउँदा त झन गर्नु नै हुँदैन ।’

मन्त्री झाक्रीले सार्वजनिक जमिन हडपेर बसेका र सरकारी जग्गा मिलिमतो मार्फत आफ्नो नाममा गरेर बसेकाहरुप्रति लक्षित गर्दै आफ्नो भनाई राखेकी थिईन् । त्यसअघि प्रधानमन्त्री देउवाले खाली ठाउँ जति सबै भूमाफियाहरूले आफ्नो नाममा गरेको र यसरी हडपिएका जग्गा सहरी विकास मन्त्रालय र गृह मन्त्रालयले मिलेर जोगाउनुपर्ने बताएका थिए ।

‘सार्वजनिक सम्पत्तिको अतिक्रमण बढेर अहिले कुनै विपत्तिको बेलामा २ सय जना मान्छेलाई एकै ठाउँमा राख्न सक्ने खाली ठाउँ काठमाडौँमा कतै छैन’ उनले भनिन्, ‘टुँडिखेल छ, त्यहाँ पनि १० फिटको बार लगाएर सर्वसाधारणलाई पहुँच दिइँदैन ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.