चीनले काेराेनाकाे बहानामा लामाे समयदेखि नाका बन्द गर्दा जनजीवन प्रभावित

काठमाडाैं । मुगु जिल्लाको उत्तरी भेगको तिब्बततिर पर्ने नाक्चेनाङ्ला नाका अझै खुलेको छैन । नाका नखुल्दा माथिल्लो मुगुको कार्मारोङ गाउँपालिकाका बासिन्दादेखि छिमेकी जिल्लाका सेवाग्राहीसमेतलाई असर परेको गोरखापत्र अनलाइनले लेखेको छ ।

मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले कोरोनाका कारण तिब्बत र मुगुको हाटबजारसम्बन्धी व्यापारिक साइनो टुटेको बताउनुभयो । नाक्चेनाङ्ला नाका बन्द हुँदा मुगुमकार्मारोङ गाउँपालिका स्थानीयले दैनिक उपभोग्य सामान, खाद्यवस्तु, लत्ताकपडादेखि भेडाच्याङ्ग्रा आयात गर्नबाट वञ्चित छन् । यहाँका नागरिकलाई दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा लिनलाई जिल्ला सदरमुकाम आउजाउ गर्न कम्तीमा पाँच दिन लाग्छ ।

नाक्चेनाङ्ला नाका खुलाउनका लागि सङ्घीय सरकार र गृह मन्त्रालयसँग पालिकाले पहल गरिरहेको जानकारी उहाँले दिनुभयो । मुगुमकार्मारोङ गाउँपालिका–३ का स्थानीय बासिन्दा तोर्ची लामाका अनुसार जिल्लाका करानी भेगका साथै छायानाथ रारा नगरपालिकाका केही बस्तीका समुदाय छिमेकी देश चीनको आयोजनामा भदौ महिनामा लाग्ने हाटबजारमा खाद्यान्न र लत्ताकपडामा निर्भर हुनुपर्ने छ तर पछिल्लो पटक चिनियाँ सरकारले कोरोनाका कारणले सीमानाका बन्द गरेको छ । पुनः यो नाका खुलाउनलाई सरकारले प्राथमिकतामा नराख्दा स्थानीय प्रत्यक्ष मारमा परेको उहाँले बताउनुभयो ।

जिल्लाका अन्य पालिकाभन्दा यो पालिका उच्च हिमाली भेगको सिमानामा पर्ने भएकाले यहाँ अत्यधिक चिसो हुन्छ । सिँचाइ सुविधा नभएकाले वर्षभरि एक बाली उवा र आलुको खेती मात्र हुन्छ । “आफ्नो उत्पादनले तीन महिना पनि खान पुग्दैन, घरबाट एक दिन टाढाको चिनियाँ नाका लामो समयदेखि बन्द छ,” मुगुगाउँका स्थानीय पेममजुम लामाले भन्नुभयो, “नाका नखुलेपछि एक बोरा चामल र एक प्याकेट नुन ल्याउनलाई पाँच दिन हिँडेर गमगढी जानुपर्ने बाध्यता छ ।”

लामो समयदेखि उत्तरी नाका बन्द हुँदा जडीबुटीदेखि स्थानीय उत्पादन उचित मूल्यमा बेच्न नपाएको स्थानीय तेन्जिङ गुरु तामाङले गुनासो गर्नुभयो । उहाँका अनुसार पहिले कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा सङ्कलन हुने कुट्की, वनलसुन, यार्सालगायत १८ प्रजातिको जडीबुटी तिब्बतमा निर्यात हुन्थ्यो । अहिले नाका बन्द हुँदा उक्त जडीबुटी स्थानीयले घोडा, खच्चडमार्फत बोकाएर गमगढी ल्याउने र त्यहाँबाट गाडीमा नेपालगन्ज हुँदै भारतसम्म पुर्‍याएर बेच्नुपर्ने बाध्यता छ । पहिले तिब्बती हाटबजारबाट एक वर्षसम्म पुग्ने गरी नुन, तेल, चामल, मैदा, भोटेचियालगायत सामान ल्याएर उपभोग गर्न बानी परेका कार्मारोङवासीलाई अहिले दैनिक उपभोग्य सामग्री जुटाउन ठुलो सास्ती भएको छ । “तिब्बती नाका बन्द हुँदा हामीलाई अहिले साह्रै दुःख छ,” डोल्पु गाउँकी स्थानीय याङजुम तामाङले भन्नुभयो, “चिनियाँ सामान सस्तोमा पाइन्थ्यो, एक दिनमा चिनियाँ नाकामा पुगिन्थ्यो, अहिले सदरमुकाममा महँगोमा सामान किनेर गाउँसम्म ढुवानी गर्दा दोब्बर बढी ढुवानी भाडा तिर्नु पर्छ ।”

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले नाक्चेनाङ्ला नाका खुलाउनका लागि आफूले गृह मन्त्रालयसँग हदैसम्म समन्वय गरिरहेको बताउनुभयो ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.