कुटपिट मुद्दाका अभियुक्तलाई सरकारी वकिलको निर्देशनमा छाडियो

ललितपुर । कुटपिट तथा अंगभंग मुद्दाका एक अभियुक्त सरकारी वकिलको निर्देशनमा छुटेका छन्।

बेलायतबाट नेपाल आएका महेन्द्रराज कँडेललाई ललितपुर प्रहरीले चार दिनअघि कुटपिट तथा अंगभंगको कसुरमा पक्राउ गरेको थियो।

तर, जिल्ला सरकारी वकिल कार्यालयले उनलाई म्याद थपका लागि अनुमति नै नदिइकन छाड्न प्रहरीलाई निर्देशन दिएपछि उनी मंगलबार छुटेका छन्।

यसरी अभियुक्तको अनुसन्धान नै नभई छाड्न निर्देशन दिएको विषय विवादमा परेको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले कँडेललाई सरकारी वकिल कार्यालयबाट भएको निर्णयअनुसार हाजिरी जमानीमा छाडिएको तर अनुसन्धान भने जारी रहेको बताए।

कँडेल यसअघि पनि विभिन्न विवाद र कानुनी झमेलामा पर्दै आएका व्यक्ति हुन् ।

भारी वर्षाको सम्भावना भएका स्थानमा विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालयमा बिदा दिन आग्रह गरेको छ ।

मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको हो ।

सम्भावित विपद्का कारण विद्यार्थीको सुरक्षा जोखिममा पर्न सक्ने भएकाले स्थानीय तहले आफ्नो क्षेत्रको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ।

त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई पनि असोज ९ देखि ११ गतेसम्म निर्धारित परीक्षा आवश्यकताअनुसार स्थगित गर्न मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यकता परेको अवस्थामा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्नसमेत आग्रह गरेको छ।

सम्भावित विपद्बाट बालबालिकालाई जोगाउन अभिभावकलाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन मन्त्रालयले विशेष आग्रह गरेको छ।

५९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोटसहित तीन जना पक्राउ

मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठुलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ धुनीबेशी नगरपालिका-१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ बस्ने फुन्चुदोर्जे तामाङ र निजका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा रहेका छन् ।

शुक्रबार राति ना ६ ख ४७४३ र ना ५ ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ आउँदै गरेका उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले सामानसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सामानहरूमा इलेक्ट्रिक भेपसहित २ सय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, ८ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ किलो खाली कार्टुन बक्स (सामान प्याक गर्ने प्रयोग गरिने बक्स) समेत रहेको छ ।

नियन्त्रणमा लिइएकाहरूलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई र बरामद सामान मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ ।

भारतीय सहयोगमा कैलालीमा विद्यालय भवन बन्दै

कैलाली । कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका- १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयको नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंहले आइतबार एक समारोहका बिच उक्त विद्यालय भवनको शिलान्यास गरेका हुन् ।

भारत सरकारको करिब ३ करोड ६० लाख रुपैयाँ आर्थिक सहयोगमा यो भवन निर्माण हुन लागेको हो । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत धनगढी उप-महानगरपालिकामार्फत कार्यान्वयन गरिने भारतीय राजदूतावासले जनाएको छ ।

शिलान्यास समारोहमा धनगढी उप-महानगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । नयाँ संरचना निर्माण भएपछि विद्यालयका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइको वातावरण थप सुदृढ र प्रभावकारी बन्ने विश्वास उनीहरूले व्यक्त गरेका छन् ।

नजिकको छिमेकीका रूपमा भारत र नेपालबिच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गरी समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको छ र यो परियोजना त्यसैको एक हिस्सा भएको राजदूतावासले उल्लेख गरेको छ ।

अमेरिकी अखडामा हान्न इरानले लियो चिनियाँ जासुसी स्याटलाइटको सहयोग : रिपोर्ट

काठमाडाैं । हालैको युद्धमा पश्चिम एसियाका विभिन्न मुलुकमा अवस्थित अमेरिकी सैन्य अखडाहरूलाई निसाना बनाउन इरानले चिनियाँ जासुसी स्याटलाइट प्रयोग गरेको फाइनान्सियल टाइम्सले जनाएको छ।

इरानी सेनाको बाहिरिएको दस्तावेजको हवाला दिँदै सो पत्रिकाले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको एरोस्पेस फोर्सले २०२४ को अन्त्यतिर चीनले अन्तरिक्षमा पठाइसएको टीईई–०१बी नाम जासुसी स्याटलाइट किनेको बताएको छ।

पछि इरानी सेनाले सो स्याटलाइटलाई प्रमुख अमेरिकी सैन्य ठेगानाहरूको निगरानीमा उपयोग गरेको थियो।
सो स्याटलाइट अर्थ आई को नामक चिनियाँ कम्पनीले बनाएर प्रक्षेपण गरेको थियो।

स्याटलाइटले साउदी अरबस्थित प्रिन्स सुल्तान एयर बेसको मार्च १३, १४ र १५ मा तस्बिर खिचेको थियो। मार्च १४ का दिन अमेरिकी सैन्य विमानहरूमाथि सोही बेसमा आक्रमण भएको डोनाल्ड ट्रम्पले बताएका थिए। जसमा पाँच वटा आकाशमै इन्धन भर्ने विमानमा क्षति पुगेको थियो।

सोही स्याटलाइटले जोर्डनस्थित एयर बेस र इराकस्थिति एरबिल विमानस्थलको पनि तस्बिर लिएको थियो, जहाँ इरानी सेनाले आक्रमण गरेको थियो।

‘यो स्याटलाइट स्पष्ट रुपमा सैन्य उदेश्यले प्रयोग गरिएको छ,’ साइन्सेस पो युनिभर्सिटीकी इरान विज्ञ निकोल ग्रेज्युस्की भन्छिन्।

चिनियाँ विदेश मन्त्रालयले भने सो रिपोर्ट झुटो भएको बताएको छ।

यो युद्धमा इरानले रुससँँग पनि सहायता लिएको बताइएको छ। एजेन्सी

बारामा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू

बारा । बारास्थित प्रसौनी गाउँपालिका–२ मा रहेको श्री बेंगा साह माध्यमिक विद्यालयको नयाँ विद्यालय तथा पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

शिलान्यास भारतका महावाणिज्यदूत देवी सहाय मीना र गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले संयुक्त रूपमा गरेका हुन्।

भारत सरकारको करिब ३३.२ मिलियन नेपाली रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त परियोजना ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ अन्तर्गत सञ्चालन गरिनेछ। परियोजना प्रसौनी गाउँपालिकामार्फत् कार्यान्वयन हुने जनाइएको छ।

निर्माणाधीन भवनमा आधुनिक कक्षाकोठासहित पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, क्यान्टिन र भान्छा लगायतका सुविधा समेटिनेछन्। दुईदेखि तीन तल्लासम्मका शैक्षिक संरचना निर्माण गरिने योजना छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ भवनले विद्यार्थीलाई सुरक्षित र अनुकूल शैक्षिक वातावरण प्रदान गर्ने विश्वास व्यक्त गरे।

छिमेकी राष्ट्रका रूपमा नेपाल–भारतबीच बहुआयामिक सहयोग रहँदै आएको उल्लेख गर्दै यस्ता परियोजनाले नेपालको विकास प्रयासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

माैरिससमा नेपाल र भारतका परराष्ट्रमन्त्रीबिच भेटवार्ता

काठमाडाैं । हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन माैरिससको पोर्ट लुई पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस जयशंकरबिच भेटवार्ता भएको छ।

द्विपक्षीय भेटमा भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री खनाललाई पदभार सम्हालेकोमा बधाई दिएका छन्। नेपालमा नयाँ सरकार गठन भएपछि दुई देशका परराष्ट्रमन्त्रीहरूबिच पहिलोपटक भेट भएको हो।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार दुई नेताबिच नेपाल–भारतबिचको दीर्घकालीन र बहुआयामिक सम्बन्धबारे समीक्षा गरिएको थियो। दुवै पक्षले आपसी हितका विषयहरूमा रचनात्मक र दूरदर्शी छलफल गर्दै दुई देशबिचको द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने साझा प्रतिबद्धता पुनः व्यक्त गरेको परराष्ट्रले जनाएको छ।

भेटपछि सामाजिक सञ्जाल एक्समा भारतीय विदेशमन्त्री जयशंकरले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट भएकोमा खुसी व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘परराष्ट्रमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा उहाँलाई हार्दिक बधाई दिएँ। विभिन्न क्षेत्रहरूमा गहन सहकार्यमार्फत भारत–नेपाल साझेदारीको पूर्ण सम्भावनालाई साकार पार्ने विषयमा छलफल भयो।’

नेपालीहरूको बैंक खाता प्रयोग गरी १७ करोड बढीको क्रिप्टो कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । नेपालमा अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले ठमेलबाट ३५ वर्षीय चिनियाँ नागरिक झु यी फेङलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका फेङले १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको अभौतिक मुद्रा ‘यूएसडीटी’ को कारोबार गरेको पाइएको छ । उनले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क बढाउने, विभिन्न प्रलोभन देखाएर विश्वासमा पार्ने र उनीहरूकै बैंक खाता प्रयोग गरी ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ठगी गरिएको रकमलाई उनले क्रिप्टोकरेन्सीमार्फत साटेर अवैध कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले तीन थान मोबाइल र रकम पठाउन प्रयोग गरिने ‘इन्टरनेसनल एक्सप्रेस’ लेखिएका कागजातहरू समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई ठगी र अवैध वित्तीय कारोबारको कसुरमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारतीय राजदूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सञ्चालन हुने ७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

भारत सरकारको अनुदान सहयोगमा सञ्चालन हुने यी परियोजनाहरूको कुल अनुमानित लागत करिब ४७.३ करोड रुपैयाँ रहेको छ ।

सम्झौताअनुसार विभिन्न प्रदेशमा कोल्ड स्टोर, विद्यालय भवन तथा प्रसूति केन्द्र निर्माण गरिनेछ। गण्डकी, कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहमा यी परियोजनाहरू कार्यान्वयन हुनेछन्।

परियोजनाअन्तर्गत नवलपुर र तेह्रथुममा कोल्ड स्टोर निर्माण, मुस्ताङ, कैलाली, डोल्पा र बाँकेमा विद्यालय भवन निर्माण तथा रौतहटमा बर्थिङ सेन्टर निर्माण गरिनेछ। यी आयोजना स्थानीय तहमार्फत् कार्यान्वयन हुनेछन्।

सन् २००३ यता भारतले नेपालमा यस्ता ५९८ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ, जसमध्ये ५०६ वटा सम्पन्न भइसकेका छन् भने अन्य विभिन्न चरणमा रहेका छन्।

प्रेस विज्ञप्तिअनुसार, यी परियोजनाले पूर्वाधार विकास सुदृढ गर्दै नेपाल सरकारको विकास प्रयासमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

सुनसरीमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं । सुनसरीको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास गरिएको छ। आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

भारत सरकारको १६.४ करोड रुपैयाँको आर्थिक सहयोगमा केन्द्रको निर्माण हुन लागेको हो। यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सुनसरीको दुहवी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गरेका छन्। यो नयाँ संरचनाले नगरपालिकामा दिगो फोहोरमैला व्यवस्थापनलाई प्रवर्द्धन गर्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन्।

नजिकका छिमेकीका रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ।