एकै दिन २४ जनामा काेराेना संक्रमण पुष्टि, कहाँ-कहाँ भेटिए संक्रमित?

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

बर्दिया राजापुर नगरपालिका- ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारै सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण देखिएको हो । सोमबार साँझ १३ जनामा पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।

Facebook Comments