गरिबका लागि सलमानको सहयोग निरन्तर

एजेन्सी । बलिउड अभिनेता सलमान खानले लकडाउनको समय मजदुरवर्गलाई आर्थिक सहयोग प्रदान गर्ने काम रोकेका छैनन् । यसअघि उनले फिल्ममा दैनिक ज्यालामा काम गर्ने २५ हजार सिने मजदुरलाई एक महिना बराबरको कमाइ उनीहरूको खातामा हालिदिएका थिए ।

यसपटक अभिनेता सलमानले फेरि ७ हजार दैनिक मजदुरलाई आर्थिक सहयोग गरेका छन् । मुम्बईका सुकुम्बासी बस्तीमा बसेर इँटाभट्टा, सडक निर्माणलगायत विभिन्न निर्माण कार्यमा मजदुरी गर्ने ७ हजार मजदुरलाई यी अभिनेताले आर्थिक सहयोग गरेका छन् ।

करिब दुई महिनादेखिको लकडाउन र कामको अभावका कारण त्यस्ता मजदुरले खान नपाएर भोकै बसेको समाचार आएपछि सलमानको चासो उनीहरूतर्फ गएको हो । मजदुरको समुदायबाट आफूहरूलाई सहयोग प्रदान गर्नका लागि अनुरोध आएपछि सलमान खानले नाइँ भन्न सकेनन् ।

उनले दैनिक ज्यालादारीमा काम गर्ने ७ हजार मजदुरलाई आर्थिक सहयोग गरेका छन् । ती सबै मजदुरलाई उनीहरूको संगठनमार्फत बैंक खाता नम्बर लिएर सलमान खानले उनीहरूको खातामा केही रकम उपलब्ध गराएका छन् ।

सलमान खानलाई उनीहरूले यतिबेला अभिनेता मात्र नभएर संकटको बेला सघाउने आफूहरूको भगवान्का रूपमा चर्चा गर्न थालेका छन् । यस्तै, बलिउड फिल्म तथा टेली फिल्ममा सानोतिनो भूमिका निर्वाह गरेर जीवन चलाउँदै आएका जुनिर आर्टिस्टहरू भोकै परेको समाचार आएपछि उनीहरूलाई पनि अभिनेता सलमान खानले धमाधाम आर्थिक सहयोग गरिरहेका छन् ।

इन्डिया स्पेसल आर्टिस्ट एसोसिएसनसँग जोडिएका यस्ता जुनियर कलाकारहरूले आर्थिक सहयोग मागेपछि उनले ९० जना यस्ता कलाकारको खानामा जनही ३ हजार रुपैयाँ हालिदिएका छन् । यो एसोसिएसनमा अरू पनि धेरै कलाकार रहेको र उनीहरूले पनि सहयोग माग्नेक्रम जारी रहेकाले उनीहरूको खाता नम्बर प्राप्त भएपछि आफूले सहयोग दिने पनि सलमानले बताएका छन् ।

यसैबीच, अभिनेता सलमानले आफ्नो घरबाटै खाद्यान्नको पूर्ण प्याकेट बनाएर विभिन्न ठाउँमा पठाई गरिब जनताका लागि प्रदान गरिरहेका छन् । सडकमा जीवन बिताइरहेका गरिब मानिसकका लागि उनले दैनिक रूपमा गाडीमा खाद्यान्नको पोका राखेर वितरण गराउँदै आएका छन् । लकडाउनको बेला सलमानले गरिब जनतालाई सहयोग गरेर उनीहरूको मन जितिरहेका छन् ।

Facebook Comments