काठमाडौं । दैलेखमा आइसोलेसन सेन्टरबाट २४ जना कोरोना संक्रमितहरु भागेका छन् । नौमुले गाउँपालिका–१ स्थित भैरव माध्यमिक विद्यालयको आइसोलेसन सेन्टरमा बसेका २४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बिहीबार मध्यरातमा भागेका छन् ।
आइसोलेसन सेन्टरमा १०० जना संक्रमित थिए । उनीहरु मध्ये २४ जना बिहीबार रातिको खाना खाएपछि करिब ११ बजेतिर भागेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार उनीहरु आइसोलेसनमा बसेको १४ देखि १७ दिन भइसकेको थियो र लक्षण पनि नदेखिएकाले एक दुई दिनभित्रै घर पठाउने तयारी पनि थियो ।
भागेका मध्ये ८ जनालाई आइसोलेसन सेन्टरमा फिर्ता ल्याइएको थियो भने अरु पनि सम्पर्कमा आएका थिए । तर आइसोलेसन सेन्टरमा भने आएका थिएनन् ।
गाउँपालिकाकी उपप्रमुख अमृता सिंहको अनुसार भागेकासहित गरेर १०१ जनालाई शुक्रबार साँझ घर पठाइएको छ । उनीहरु आइसाेलेसनमा बसेका १४ देखि १७ दिन भइसकेका कारण उनीहरुलाई घर पठाइएको र ३० जनालाई पनि भोलि घर पठाइनेछ ।
Facebook Comments