काठमाडौँ । नेपालमा अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले ठमेलबाट ३५ वर्षीय चिनियाँ नागरिक झु यी फेङलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका फेङले १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको अभौतिक मुद्रा ‘यूएसडीटी’ को कारोबार गरेको पाइएको छ । उनले विभिन्न सामाजिक सञ्जालमार्फत नेपाली नागरिकहरूसँग सम्पर्क बढाउने, विभिन्न प्रलोभन देखाएर विश्वासमा पार्ने र उनीहरूकै बैंक खाता प्रयोग गरी ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
ठगी गरिएको रकमलाई उनले क्रिप्टोकरेन्सीमार्फत साटेर अवैध कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले तीन थान मोबाइल र रकम पठाउन प्रयोग गरिने ‘इन्टरनेसनल एक्सप्रेस’ लेखिएका कागजातहरू समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई ठगी र अवैध वित्तीय कारोबारको कसुरमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।




Facebook Comments