बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे पाँच हजार पाइने

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै रु. पाँच हजार बैंक दाखिला गराउन थालिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई रु. पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप रु. पाँच हजार जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म २६ बच्चाको खातामा रकम दाखिला भइसकेको छ। न्यौपानेले भने–‘बच्चाको जन्मदर्ता गराउन र जन्मेलगत्तै बैंक खाता सुनिश्चित बनाउन नगद जम्मा गर्ने व्यवस्था मिलाउन सुरु गरेका हौं । जम्मा भएको रकम बच्चा वयस्क भएपछि झिक्न पाउने नियम बनाएका छौँ ।’

वडा नम्बर ५ मा दलित, कुमाल, आदिवासी जनजातिसहितका निम्न तथा श्रमिक वर्गको बाहुल्य छ । अहिले जन्मिएका बच्चा वयस्क हुँदाका बखत खातामा केही रकम सुनिश्चित गराउन कार्यक्रमलाई केन्द्रित गराउने वडाध्यक्ष न्यौपानेको भनाइ छ ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.