पाेखरामा तिम्ल्याहा बच्चाकाे जन्म

कास्की । पोखरा नगरपालिका–१७ की सपना भण्डारीले तिम्ल्याहा बच्चा जन्माएकी छिन् । सपनाले मणिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा सन्तान जन्माएकी हुन् । बुधबार बेलुका सपनालाई ब्यथा लागेपछि मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

बिहीबार बिहान डाक्टरले सपनाको शल्यक्रिया गरेर बच्चहरु निकालेका हुन् । ७ महिनामै जन्मिएका तीनै जना सन्तान र सपनाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाए ।

सपनाले २ छोरा र १ छोरीलाई जन्म दिएकी हुन् । पहिलो बच्चाको रुपमा जन्मिएकी छोरी १.३ केजी तौलकी छन् । दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौलका भएको अस्पतालले जनाएको छ ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र डा. बालकृष्ण तनेजालगायतले सपनाको शल्यक्रिया गरेका थिए । नवजात शिशुहरुको अवस्था सामान्य भएपनि तौल कम भएका कारण केही दिन एनआईसीयूमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

Facebook Comments