काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विस्तार बढ्दो भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले डेढ महिनादेखि जारी लकडाउनले मुलुकमा संक्रमणको विस्तारलाई पछाडि धकेले पनि रोक्न भने नसकेको औंल्याएका छन् ।
लकडाउनले संक्रमणको गति कम गरेर योसँग जुध्न आवश्यक तयारीका लागि समय दिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले बताए । दुबईबाट फर्किएका कैलालीका एक युवकमा संक्रमण पुष्टि भएकोमा पछि कुनै ट्राभल हिस्ट्री नरहेकी उनकी ३४ वर्षीया भाउजूमा समेत संक्रमण देखिएपछि चिन्ता थपिएको थियो । माघ ९ मा कोभिड–१९ को पहिलो केस देखिएकोमा बिहीबारसम्म (१०६ दिन) मा ९९ जनामा संक्रमणको पुष्टि भएको छ भने २२ जना निको भएर घर फर्किसकेका छन् ।
‘कोभिड–१९ संक्रमण बढ्दो भए पनि हालसम्म बाहिरबाट आएका व्यक्तिको सम्पर्कमा आएकाहरूमा नै देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । उनका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्दासमेत समुदायमा व्यापक सरेको देखिएको छैन । तर, संक्रमणको विस्तार विश्वका अन्य मुलुकजस्तै बढ्दो भने छ । लकडाउनले गर्दा मुलुकमा संक्रमणको विस्तारलाई पछि धकेले पनि रोक्न भने नसकेको डा. अधिकारीले पनि औंल्याए ।
कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट एवं जनस्वास्थ्यविद् डा. संगीता मिश्र उपयुक्त रूपले ट्रेसिङ र छानेर नमुनाको जाँचसँगै अस्पतालको क्षमता विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिन्छिन्।
हाल नेपालगन्जको बस्तीमा संक्रमण देखिए पनि खास समूहमा मात्रै रहेको र नियन्त्रणको अवस्थामा रहेको डा. पाण्डेले दाबी गरे । ‘कन्ट्याक्ट ट्रेसिङ गर्दा स्पष्ट रूपमा यात्रा इतिहास, भेटघाटलगायतका आवश्यक जानकारी पाउन गाह्रो देखिएको छ तर मुख्य चुनौती अझै सीमापारिबाट लुकीछिपी आउनेहरूबाटै छ,’ उनले भने । हाल कोभिड–१९ को उच्च जोखिम प्रदेश १ र २ मा बढी रहेको विज्ञहरूको भनाइ छ । कान्तिपुर दैनिकबाट
Facebook Comments