सशस्त्र प्रहरीमा सुरु भयो बढुवा प्रक्रिया, नेपाल प्रहरीमा अझै अन्योल

काठमाडौं । सशस्त्र प्रहरी बलमा रोकिएको बढुवा प्रक्रिया आर्थिक सकिन लागेपछि अघि बढाइएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयले बिहीबार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सूचना निकालेको छ ।

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्र प्रहरीमा डीआईजीको एक पद एक महिनादेखि रिक्त छ । त्यसमा कसलाई बढुवा गर्ने भन्ने सहमति नजुट्दा सूचना नै निकालिएको थिएन । सहमति भएसँगै सूचना प्रकाशन भएको स्रोत बताउँछ ।

सो पदमा मनिष थापा, कृष्णराज पाठक मुख्य दाबेदार हुन्। पाठक सिंस नम्बर १ का अधिकृत हुन्। पाठक नेपाल प्रहरीबाट स्थानान्तरण भएका हुन् । स्टाफ कलेज समेत गरेकाले थापाकै बढुवा हुने सम्भावना छ ।

यद्यपी सिंस नम्बर २ का एसएसपीहरूले पनि फारम भर्ने तयारी गरिरहेका छन् । सिंस नम्बर २ का दिपेन्द्र कुँवर र विष्णु भट्ट यसअघि नै डीआईजी भइसकेका छन् ।

सशस्त्रमा लामो समयदेखि एसएसपी, एसपी र डीएसपीका पद पनि रिक्त छन् । अबको एक साताभित्र सबै पदमा बढुवाको तयारी भइरहेको छ ।

उता नेपाल प्रहरीमा भने अझै बढुवा प्रक्रिया अघि बढेको छैन । नेपाल प्रहरीमा एसएसपीका ११ पद रिक्त भएको करिब दुई महिना भइसकेको छ ।

११ पदमा ३३ एसपीबीच प्रतिस्पर्धा छ । सोकारण बढुवामा तिव्र चलखेल छ । शक्तिकेन्द्रको दबाब र जुनियरहरुको चलखेलका कारण बढुवा रोकिएको हो ।

Facebook Comments