भारतद्वारा नेपाली यू-१९ क्रिकेट खेलाडीहरूलाई भोपालमा एक महिनाको प्रशिक्षण अवसर

काठमाडाैं । युवा विकास र खेल कूटनीतिलाई सुदृढ बनाउने उद्देश्यले भारतको काठमाडौंस्थित राजदूतावासले नेपाली यू-१९ क्रिकेट खेलाडीहरूलाई भोपालमा एक महिनाको व्यावसायिक प्रशिक्षणको व्यवस्था गरेको छ।

‘नेपाली युवाहरूका लागि राजदूत क्रिकेट फेलोशिप’ अन्तर्गत, जुन २०२५ मा भारतीय दूतावासले घोषणा गरेको कार्यक्रमअनुसार, तीन नेपाली यू-१९ खेलाडीहरू—नरेन भट्ट, साहिल पटेल र पूजा महतो—२०२५ जुलाई १५ देखि अगस्ट १४ सम्म एल.बी. शास्त्री क्रिकेट शाला, भोपालमा प्रशिक्षणमा सहभागी हुनेछन्।

यो कार्यक्रमले नेपाली क्रिकेट प्रतिभालाई प्रवर्द्धन गर्नुका साथै क्रिकेटप्रति साझा मोहमार्फत भारत र नेपालबीचको जनस्तरीय सम्बन्धलाई थप प्रगाढ बनाउने लक्ष्य राखेको छ।

खेलाडीहरूलाई प्रशिक्षणको शुभकामना दिंदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज क्रिकेट संघ नेपाल (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दको उपस्थितिमा उनीहरूसँग भेटवार्ता गरे। उक्त भेटमा उनले नेपाल–भारतबीचको सम्बन्धलाई अझ बलियो बनाउन खेलकुद क्षेत्रको योगदान उल्लेखनीय रहेको बताए।

यो व्यावसायिक प्रशिक्षणले खेलाडीहरूको सीपमा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ, जसले नेपाली क्रिकेटको उज्जवल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै, यो पहलले युवा सशक्तीकरण र खेलमार्फत दुई देशबीचको सम्बन्ध सुदृढ गर्न सहयोग पुग्ने राजदूतावासले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.