बालकृष्ण देउजा
संसारका सबै देश यतिबेला कोरना भाइरससँग मानव अस्तित्व रक्षाको लडाइँ लडिरहेका छन्। यस महामारीबाट बच्न विश्व मानव समुदाय नै लकडाउनको लक्ष्मण रेखाभित्र बाँचिरहेको छ। हाम्रो देश पनि कोरनाको संक्रमणबाट मुक्त छैन। कोरोनाको संक्रमण एकातिर बढ्दो छ भने अर्कातिर यसबाट उत्पन्न समस्याले ठूलो आर्थिक संकट उत्पन्न हुँदैछ। संक्रमण रोक्ने आर्थिक गतिविधिलाई पनि सँगसँगै अघि बढाउन सबै नेपाली एकजुट हुनुपर्ने बेलामा यहाँका राजनीतिक दलका नेता भने सरकार परिवर्तनका लागि एकापसमा लडिरहेका छन्। यो अवस्थाको सामना गर्न मजबुत नेतृत्वसहितको सरकार आवश्यक हुन्छ। यस्तो बेलामा सरकार नै परिवर्तन गर्ने खेल सुरु हुनुलाई स्वाभाविक मान्न सकिँदैन। सरकारमा को जाने को नजाने र सरकारको नेतृत्व कसले गर्ने भन्ने कुराको निर्णय दलीय व्यवस्थामा राजनीतिक पार्टीहरूले नै गर्ने हो। पार्टीले सरकार सञ्चालनका लागि सहयोग गर्नुपर्छ र पार्टीसँगको परामर्शमा सरकारले काम गर्नुपर्छ।
सरकारलाई पार्टीले बलियो बनाउने र सरकार सञ्चालन कार्यबाट पार्टीलाइ मजबुत बनाउने दोहोरो पारस्परिक सम्बन्ध दलीय व्यवस्थामा पार्टी र सरकारको बीचमा हुन्छ। नेपालको वर्तमान विशिष्टताका आधारमा सरकार र पार्टीको नेतृत्व के.पी.ओलीले गर्नुभएको छ र पार्टी अध्यक्षको जिम्मेवारीमा पुष्पकमल दाहाल हुनुहुन्छ। यो सरकार,इतिहासकै बलियो र नेपाली जनताले पत्याएको शक्तिशाली सरकार हो। यो अवस्थात्यत्तिकै आएको होइन। नेपालमा बहुदलीय व्यवस्था पश्चातका निर्वाचनहरूमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्दा जहिल्यै पनि मिलिजुली सरकार बन्यो र सरकार परिवर्तनका खेलहरू भईनै रहे। नेपालमा राजनीतिक स्थिरता प्राप्त हुन सकेन। यसबाट नेपाली जनतामुक्ति चाहन्थे। जनताको चाहनाअनुसार नै जनमत प्राप्त भयो।यसको मतलव यो जनमत एक पूर्ण अवधि पूरा नगरी विगतमा झैँ पटक–पटक सरकार परिवर्तन गर्न वा मध्यावधिमा जानका लागि हैन। यसको मतलव कुनैपनि अवस्थामा सरकार परिवर्तन हुनुहुँदैन भन्ने पनि होइन।
सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कमजोर भएमा वा सरकारले काम गर्न नसकेमा प्रधानमन्त्रीले आफूखुसी राजीनामा दिने वा पार्टीले सरकार हेरफेर गर्नुपर्ने अवस्था आउन सक्छ।वर्तमान प्रधानमन्त्री के.पी.ओली अस्वस्थ भएर सरकारी कामकाज ठप्प भएको अवस्था हो वा सरकारले काम गर्न नसकेर सरकार परिवर्तन गर्नुपरेको हो ?जनाताले प्रस्ट बुझ्न पाउनुपर्छ।कोरोना संक्रमणको गतिलाई यत्तिकैमा रोकेर उपचार हुन सकेन र संक्रमणमा तीव्रता आयो भने नेपालजस्तो स्रोतसाधनको अभाव भएको देशले यो महामारी धान्न सक्दैन। यसले विकराल रूप लियो भने यसबाट स्वास्थ्य तथा आर्थिक जीवनयापनमा पर्ने असरका अलवा भोकमरी र असुरक्षाको कहालीलाग्दो अवस्था आउन पनि सक्छ।सरकारको यतिबेलाको दायित्व भनेको कोरोनाबाट देश र जनतालाई बचाउनु हो। यो कामका लागि सरकार निकम्मा भएको हो भने अहिल्यै सरकार परिवर्तनको औचित्य सावित हुन सक्ला अन्यथा संसारकै मानवजातिका लागि महान् चुनौतीका रूपमा देखापरेको कोरोनाको महामारी अझ भनौँ, महासंकटको सन्मुखमा सबै काम छाडेर सरकार परिवर्तनको खेलमा लाग्नु भनेको कुर्सी मोहका लागि घृणित खेलमा सामेल हुनु हो भनेर सबैले प्रस्ट रूपमा बुझ्नुपर्ने हुन्छ।
वर्तमान प्रधानमन्त्री के.पी. ओली अस्वस्थ भएर सरकारी कामकाज ठप्प भएको अवस्था हो वा सरकारले कामगर्न नसकेर सरकार परिवर्तन गर्नुपरेको हो ?जनाताले प्रस्ट बुझ्न पाउनुपर्छ।
दलीय व्यवस्थामा सरकारमा को जाने को नजाने,कसलाई सरकार प्रमुखको जिम्मेवारी दिने,नदिने, कसलाई राख्ने र कसलाई हटाउने भन्ने कुराको निर्णय पार्टीले गर्ने हो। पार्टी निर्णयको अवज्ञा, सरकार सञ्चालकहरूबाट भएमा पार्टीले सच्च्याउन निर्देशन गर्नुपर्छ। र,नसच्याएमा आत्मआलोचनाको विषय बनाउनुपर्छ। वर्तमान सरकारको विकल्पतत्काल किन आवश्यक भयो ? सरकारबाट पार्टीको निर्देशनको उल्लंघन भएको र पार्टीलाई जानकारी नदिइ दुईवटा अध्यादेश जारी गरेको विषयलाई लिएर सरकार परिवर्तन गर्न खोजेको चर्चा छ। पार्टीको निर्देशन उल्लंघन भएकाले सरकार परिवर्तन गर्नुपरेको हो भने अहिले भर्खरमात्र उल्लंघन भएको होइन। पहिलादेखि नै निर्देशनको पालना नभएको हो भने अहिले यस्तो संकटको घडीमा नै किन सरकार परिवर्तन गर्नुपर्यो ? कम्तीमा कोरोना रोकथामको समयसम्म त कुर्न सकिने थियो होला। अध्यादेशका कारण सरकार परिवर्तन गर्नुपरेको हो भनेफिर्ता भई नै सक्यो। यो अध्यादेशले ने.क.पा.लाई के असर पर्यो र सरकार नै परिवर्तन गर्नुपर्यो भन्ने जिज्ञासा पनि छँदैछ।
विपक्षी पार्टी फुटाएर आफ्नो पार्टीलाई बलियो बनाउने कुराको विरोध विपक्षी पार्टीबाट हुनु त स्वाभाविक नै हो। तर आफ्नै पार्टीबाट चाहिँ सरकार नै परिवर्तन गर्नुपर्ने तहको अपराधचाहिँ के भएको छ?यस्ताकाम त विगतमा पनि भएकै हो। केवल अध्यादेश ल्याइएन र ल्याउनुपर्ने अवस्थापनि थिएन। ने.क.पा.एमालेलाई फुटाएर ने.क.पा. माले र ने.क.पा.एमाले बनाउन कांग्रेसले २०५१ सालमा खेलेको भूमिकाको इतिहास साक्षी छ। वर्तमानमा ल्याइएको अध्यादेश आफ्नो पार्टी फुटाउनका लागि थिएन भन्ने प्रस्ट भएपछि पनि सरकार परिवर्तन किन गर्नुपर्यो ?कोरनाको महामारी नियन्त्रणका लागि यो सरकारले काम गर्न नसकेको र यहीकारणले दिनानुदिन संकट बढेको अवस्था हो भन्ने पनि होइन। नेपालमा तुलनात्मक रूपमा कोरोना नियन्त्रणका लागि सरकारको भूमिका प्रभावकारी नै देखिएको छ। सरकारले समयमै लकडाउन गर्यो र कोरोनाबाट बच्नका लागि सचेतनामूलक अभियान सुरुमा नै सञ्चालन भयो। जसको परिणाम कोरोनाले अहिलेसम्म महामारीको रूप लिन पाएको छैन।
सरकार परिवर्तन हुने अनि प्रधानमन्त्रीचाहिँ उही पुरानै अनुहार जो टेस्ट परीक्षामा सामेल भएर विगतमा सरकारको नेतृत्व गरिसक्नुभएको छ।उहाँहरूबाट अब थप नयाँ उपलब्धि चाहिँ के हुने भन्ने प्रश्नपनि आम मानिसको मनमा उब्जिएको छ। वर्तमान सरकार प्रमुख के.पी. ओलीले कोरोनाको संक्रमणपश्चात सरकारको नेतृत्व परिवर्तन हुने र भावी प्रधानमन्त्री वामदेवलाई बनाउने नयाँ प्रस्ताव अघि सार्नुभएको छ। यो प्रस्तावले कति सार्थकता पाउला त्यो त हेर्न बाँकी नै छ। अहिल्यै धेरैले यो कार्यान्वयन नहुने प्रस्तावका रूपमा बुझ्न थालेका छन्।वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्तावको सान्दर्भिकतामा भने कसैले प्रश्न उठाउने ठाउँ छैन।बामदेव गौतम ने.क.पा.को निर्माणदेखि आजसम्मपनि अनवरतरूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको एक दर्बिलो नेता भएकाले भावीप्रधानमन्त्रीका रूपमा देख्न चाहनु स्वाभाविक हो। बामदेव गौतमले यो अवसर पाउनुभएन भने पनि पार्टी एकताका लागि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। २०५१ सालमा पार्टी फुटाएको आरोप खेपिरहनु भएका गौतमका लागि पार्टी जुटाउने यो एउटा अवसर पनि हो। हुन त बामदेवलाई मात्र पार्टी विभाजनको आक्षेप लगाउनु अन्यायपूर्ण मूल्यांकन हो। पार्टीविभाजन हुनुपर्ने कारण बामदेवमात्र नभएर तत्कालीन महासचिव माधवकुमार नेपालले पनि लिनुपर्ने हो तर एकतर्फीरूपमा फुटको दोषारोपण वामदेबले बेहोर्नुपरेको छ।
अहिले फेरि ने.क.पा.मासंकट आएको छ र झण्डै, झण्डै विभाजनको संघारमा आइपुगेको पार्टीलाई एकताबद्ध बनाउने अवसर बामदेवलाई जुरेको छ। संसारमा नै कोरोनाले मानव जातिमाथि धावा बोलिरहेको यो महासंकटमा बामदेवले प्रधानमन्त्री बन्ने लालसाभन्दा माथि उठेर पार्टीलाई एकताबद्ध बनाउन मूल भूमिका निर्वाह गर्न पाउने एक अवसरको भरपुर उपयोग गर्नुपर्छ। विगतदेखिको त्यागमा निरन्तरता दिँदै एकपटक फेरि एउटा ऐतिहाँसिक महत्वपूर्ण अवसरको उपयोग गर्न सफल हुनुहोस्।हामीजस्ता कार्यकर्ता र सिंगो पार्टीको तर्फबाट पार्टी एकताको नायक बन्ने कार्यमा सफलता मिलोस्।
(सदस्य– अखिल नेपाल किसान महासंघ, राष्ट्रिय समिति)
Facebook Comments