माथिल्लो तामाकोशी आयोजनाको काम अन्तिम चरणमा, आगामी वैशाख दोस्रो सातादेखि सुरुङमा पानी हाल्ने तयारी

काठमाडौँ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोना र केही प्राविधिक जटिलताका कारण आयोजनाको काममा ढिलाइ भएको हो ।

माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बिच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको हो । पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी वैशाखको दोस्रो साताभित्रमा सम्पन्न गर्ने लट-२ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।

हाल हाइड्रोमेकानिकलतर्फका केही गेटहरु र पेनस्टक पाइपसँग सम्बन्धित केही कङ्क्रिटिङको काम मात्रै बाँकी छ । बाँकी रहेका सानतिना काम सम्पन्न गरि आगामी वैशाखको दोस्रो हप्तादेखि पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ ।

मुख्य निर्माणअन्तर्गत बाँध-इन्टेक, मुख्य सुरुङ, विद्युत् गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्र्याउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले निर्माणस्थलको स्थलगत अवलोकन गरि आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारहरुसँग संयुक्तरुपमा बाँकी रहेका निर्माण कार्य शीघ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिका बारेमा छलफल गरेका छन् ।

बाँकी रहेका काम आगामी वैशाख १० गतेभित्र सम्पन्न गरी वैशाख ११ बाट सुरुङमा थोरै परिमाणमा पानी पठाइ मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न शुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।

यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत गृहमा जडान गरिएका छ-छ वटा टर्वाइन र जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ ।

सोही क्रममा पहिलो युनिटबाट २०७८ वैशाख मसान्तसम्म विद्युत उत्पादन सुरु हुने शाक्यले जानकारी दिनुभयो । “भूकम्प, बाढीपहिरो, कोरोना कहर जस्ता विभिन्न समस्या झेल्दै आएको आयोजना निरन्तरको प्रयासबाट अब विद्युत उत्पादन सुरु गर्न सक्ने अवस्थामा पु¥याएका छौँ, निर्धारित तालिकाभन्दा अगावै विद्युत् उत्पादन हुने गरी बाँकी रहेका काम समानान्तररुपमा अगाडि बढाएर सम्पन्न गर्नुपर्छ”, उनले भने ।

चालू आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरि ४५६ मेगावाट नै विद्युत उत्पादन गरिनेछ । आयोजनामा ७६-७६ मेगावाटका छ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत उत्पादन हुनेछ ।

विसं २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट-२) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

यस्तै लट-२ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इञ्जिनीयरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रो मेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । “स्वदेशी लगानीमा हाल निर्माण भइरहेको मुलुककै सबैभन्दा ठूलो आयोजना ठूलाठूला प्राकृतिक विपत्ति र विश्वव्यापी महामारी कोभिड-१९ को चपेटामा प¥यो, त्यसबाट तङ्गिर्गदै विद्युत् उत्पादनको चरणमा पुगेको छ, यो सबैका लागि खुशीको विषय हो”, उनले भने ।

लट-२ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट-३) को ठेकदारलाई दिइएको थियो । आयोजनाले चरिकोट (दोलखा)-सिंगटी ३५ किलोमिटर सडकमा करिब रु एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र सात वटा पक्की पुल बनाएको छ ।

यही पूर्वाधारलाई प्रयोग गरी तामाकोशी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोसीबाहेक सानाठूला गरी करीब ७०० मेगावाट क्षमता बराबरका २१ जलविद्युत आयोजनाहरु अगाडि बढेका छन् । आयोजनाले सडक बनाइदिएपछि दोलखाको उत्तरी क्षेत्रमा पर्ने साविकका २० गाविसका जनतालाई आवतजावत सहज भएको छ ।-रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.