सुन तस्करीमा संलग्न चिनियाँ गिरोह क्रिप्टो र हुन्डीको कारोबारमा पनि

काठमाडाैं । नेपालमा कार्गाेमार्फत ठूलो मात्रामा सुन तस्करी गर्दै आएको चिनियाँ गिरोह क्रिप्टोकरेन्सी र हुन्डीको कारोबारमा पनि संलग्न रहँदै आएको प्रहरीले पत्ता लगाएको छ । सुन तस्करीलगायत आपराधिक कारोबारको लेनदेन उनीहरूले क्रिप्टो र हुन्डीमार्फत मिलाउँदै आएका थिए ।

उनीहरूले सुन तस्करीको अवैध रकम वैध माध्यमबाट कारोबार गर्न नमिल्ने भएकाले क्रिप्टोमार्फत चीनमा भुक्तानी मिलाउने गरेको प्रहरीले जनाएको छ । गत २ असारमा बरामद भएको करिब ६० किलो सुन तस्करी गर्ने चिनियाँ नेतृत्वको गिरोहमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले अनुसन्धान गरिरहेको छ । जसमा ६ चिनियाँ, चिनियाँ मूलका एक भारतीय र एक बेल्जियमका नागरिक थुनामा छन् । हालसम्म २६ जनालाई सिआइबीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरू अन्य आपराधिक गतिविधिमा समेत संलग्न रहेको र त्यसमा पनि अनुसन्धान भइरहेको सिआइबी निर्देशक एआइजी किरण बज्राचार्यले बताइन् ।

‘अन्तरदेशीय संगठित अपराध भएकाले यो घटनाका धेरै पाटा छन्,’ उनले भनिन्, ‘सबै कोणबाट हामीले अनुसन्धान गरिरहेका छौँ ।’ पक्राउ परेका चिनियाँको मोबाइलमाथि अनुसन्धान गर्ने क्रममा क्रिप्टो कारोबार पुष्टि भएको र यसमा छुट्टै मुद्दा दायरको तयारी भइरहेको सिआइबीले जनाएको छ ।

चिनियाँ समूहलाई नेपालमा सहयोग गर्ने सिन्धुपाल्चोकका किशोर बस्नेत बुधबार पक्राउ परेसँगै अनुसन्धानले गति लिएको छ । उनलाई प्रहरीले नयाँदिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो । उनीसँगै कारोबार गर्ने रमेश बस्नेत पनि पक्राउ परेको सिआइबी स्रोत बताउँछ । दावाका प्रमुख सहयोगी रहेका किशोरले सुन तस्करीका लागि भन्सारमा सेटिङ मिलाउने गरेको सूचना प्रहरीलाई छ । चीनबाट आयातको काम गर्दै आएका उनको भन्सारका कर्मचारीहरूसँग निकटता छ । दावाले कर्मचारी मिलाउने जिम्मेवारी उनै बस्नेतलाई दिएका थिए । सेटिङकै कारण विमानस्थलको भन्सारमा एक्सरे चेकिङमा शंकास्पद वस्तु देखिएपछि ‘रिचेक’ लेखेर विस्तृत मूल्यांकनमा पठाइएकोमा थप जाँच नगरी पास गरिएको थियो । जसमा भन्सार कर्मचारीको मिलेमतोको आशंका गरिएको छ । मिलेमतोको आशंकामा अनुसन्धानका लागि भन्सारका चार कर्मचारी प्रहरी थुनामा छन् ।

प्रारम्भिक अनुसन्धानमा भन्सार कर्मचारीले तस्करीका लागि प्रयोग गरेका मोबाइल नष्ट गरिसकेको खुलेको छ । जसकारण भन्सारको सेटिङ अझै प्रस्ट हुन सकेको छैन । यद्यपि, किशोरमाथि विस्तृत अनुसन्धान गर्दा नेपालतर्फका धेरै व्यक्तिको संलग्नता खुल्ने प्रहरी अधिकारी बताउँछन् ।

अब सिआइबीसँग दुई साता मात्र समय, ३३ जनाको टिम
संगठित अपराध कसुरमा अनुसन्धानका लागि सिआइबीसँग अब करिब दुई साता मात्र समय छ । जसकारण उसले अनुसन्धानलाई तीव्रता दिएको छ । अनुसन्धानमा प्रहरी अधिकृत थप गरी बृहत् टिम बनाइएको छ । एआइजी किरण बज्राचार्य नेतृत्वको टिममा दुई डिआइजी, तीन एसएसपी तथा चार एसपी प्रत्यक्ष रूपमा संलग्न छन् ।

केही प्रहरी अधिकारी अनुसन्धानका लागि हङकङ र नयाँदिल्लीसमेत पुगेका छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को पनि सहयोग लिइएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायत बताउँछन् । अन्तरदेशीय अपराध भएकाले यसमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याउने सिआइबीको प्रयास छ । नेपालमा सुन ल्याउने चिनियाँ गिरोह पक्राउ परे पनि भारत लैजाने व्यक्तिसम्म अझै प्रहरी पुग्न सकेको छैन ।

साथै, यसमा संलग्न नेपाली व्यापारीविरुद्ध पनि अझै बलिया प्रमाण जुटाउनै बाँकी रहेको सिआइबी स्रोत बताउँछ । दावासँगै धेरै नेपालीको सम्पर्क देखिएको र उनीहरूलाई बोलाउँदै सिआइबीले सोधपुछ गरिरहेको छ । जसमा कर्मचारी, प्रहरी, नेतादेखि विभिन्न क्षेत्रका व्यक्तिहरू छन् । बेल्जियम र नेपालको पासपोर्ट भएका दावा नेपाली महिलासँग बिहे गरी विगत पाँच वर्षदेखि लगातार नेपालमा बस्दै आएका छन् । सुन तस्करी मात्र नभई जडीबुटीदेखि डलर तस्करीसम्मको काममा उनको संलग्नता देखिएको छ ।

साथै, यसअघि विद्युतीय चुरोटभित्र र गाडीको ब्रेकसुलगायतका सामानभित्र लुकाएर सुन ल्याउने समूहबीच पनि सम्बन्ध देखिएको छ । त्यसमा पनि प्रहरीले सँगै अनुसन्धान अघि बढाएको छ । चिनियाँ समूहले कम्तीमा दुई हजार केजी सुन ल्याएको सिआइबीको आकलन छ । तर, थप सुन बरामद हुन सकेको छैन । सुन निकालिएका ब्रेकसु भने बरामद भएका छन् । दुई साताभित्रै सबै अनुसन्धान पूरा नहुने भएकाले पहिलो चरणमा अनुसन्धान सकाएर पक्राउ परेकाविरुद्ध मुद्दा दायर गर्ने र अन्यको हकमा पछि अनुसन्धान गर्ने सिआइबीको तयारी छ ।

Facebook Comments