भारी वर्षाको सम्भावना भएका स्थानमा विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार विद्यालयमा बिदा दिन आग्रह गरेको छ ।

मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको हो ।

सम्भावित विपद्का कारण विद्यार्थीको सुरक्षा जोखिममा पर्न सक्ने भएकाले स्थानीय तहले आफ्नो क्षेत्रको अवस्था मूल्यांकन गरी आवश्यकताअनुसार विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ।

त्यस्तै, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई पनि असोज ९ देखि ११ गतेसम्म निर्धारित परीक्षा आवश्यकताअनुसार स्थगित गर्न मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यकता परेको अवस्थामा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्नसमेत आग्रह गरेको छ।

सम्भावित विपद्बाट बालबालिकालाई जोगाउन अभिभावकलाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन मन्त्रालयले विशेष आग्रह गरेको छ।

By adm_0076bde0ef

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.