सरकारले गर्‍यो लकडाउन अझै कडा, के के गर्न पाइँदैन? हेर्नुस् नत्र प्रहरीको फन्दामा परिएला!

काठमाडौं । कोरोना भाइरसबाट एकै दिन ७४ जना संक्रमित भएपछि सरकारले लकडाउनमा थप कडाई गरेको छ।

गृह मन्त्रालयमा मंगलवार बसेको बैठकले चैत ११ देखि जारी लकडाउनमा थप कडाई गर्दै एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध लगाएको छ। प्रशासन कार्यालयबाट जारी भएका सबै पास रद्ध गरेको छ। आजको मन्त्रिपरिषद बैठकमा लकडाउन खुकुलो भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएपछि गृह तातेको हो।

एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए।

सरकारले केही दिनअघिमात्रै लकडाउनमा खुकुलो गरेको थियो। तर पछिल्लो तीन दिनयता संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकार कडाई गर्ने निर्णयमा पुगेको हो। निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको छ।

सरकारी कर्मचारीको हकमा सम्बन्धित मन्त्रालयका सचिव र बैंक/वित्तीय संस्थालगायत क्षेत्रका कर्मचारीलाई नियामक निकायबाट जारी गरिएका छुट्टै पास लिएर मात्रै हिँडडुल गर्न दिन प्रशासन र सुरक्षा निकायलाई निर्देशन छ।

काठमाडौं उपत्यकाभित्र भने एउटै जिल्लाबाट जारी भएको पासले तीन जिल्लामा जान पाइने छ। त्यस्तै अहिले सरकारले ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामग्री बोकेका सवारीलाई रोक लगाइएको छ। मालवाहक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रवेश पाउने छन्।

त्यस्तै, सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको छ। यसैगरी, बैंक तथा वित्तीय संस्थाको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ।

गृहसचिव र प्रहरी प्रमुख नागढुंगा पुगे
प्रधानमन्त्री ओलीको लकडाउन खुकुलो भएको असन्तुष्टिपछि गृह मन्त्रालयका सचिव र नेपाल प्रहरीका प्रमुख नागढुंगा नाका निरीक्षण गरेका छन्।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुरप्रसाद ज्ञवाली, उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेल, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलगायतको टोली मंगलबार साँझ नागढुंगा नाकामा पुगेको हो।

टोलीमा महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापा, चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरि पनि थिए।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.