जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालिन प्रमुख एसपी खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । बुधबार विजयराम चमारका बुबा पनिलाल महरा चमारले एसपी खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा यातना तथा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको जिल्ला न्यायधीवक्ता सुवास कुमार भट्टराईले जानकारी दिए ।

रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्षीय युवक विजय रामको हिरासतमा मृत्यु भएको घटनामा संलग्न रहेकाे भन्दै उनीहरूबिरूद्ध मुद्धा दायर गरिएकाे बताइएकाे छ ।

एसपी खड्कासहित तत्कालिन इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञान कुमार महतो, प्रहरी निरीक्षक (इन्सपेक्टर) नविन कुमार सिंह, प्रहरी नायब निरीक्षक (सई) विरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुर्दा दर्ता भएको हो ।

गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजयरामलाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको थियो ।

१७ वर्षीय विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि परिवारले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । विजयलाई हिरासतमा हत्या स्वीकार गर्न चरम यातना दिएको पीडित परिवारको आरोप छ ।

Facebook Comments